‘छ माया छपक्कै २’ को दोस्रो गीत ‘मायामा एक्सपायरी डेट हुँदैन’ सार्वजनिक

काठमाडौ। यस वर्षको बहुप्रतीक्षित फिल्म ‘छ माया छपक्कै २’को दोस्रो गीत ‘मायामा एक्सपायरी डेट हुँदैन’ सार्वजनिक गरिएको छ ।

सविन सुवेदी र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत छ । रोमान्टिक शैलीको गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई फिचर्ड छन् ।

गीतको भिडियोमा श्रीमान्–श्रीमतीको भूमिकामा रहेका दीपक र केकीबीचको प्रेमिल सम्बन्धलाई प्रस्तुत गरिएको छ । उनीहरूको सम्बन्धमा सनिशाको प्रवेशले भिडियोमा नयाँ मोड थपेको छ । गीतले त्रिकोणात्मक प्रेमकथाको संकेत गरे पनि फिल्मको कथाले कस्तो रूप लिन्छ भन्ने भने असोज ३१ गते फूलपातीपछि मात्रै खुल्नेछ ।

गीतको भिडियोको कोरियोग्राफी किरण थापाले गरेका हुन् ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आइएमईको संयुक्त प्रस्तुतिमा बनेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । निर्देशक लामा र दीपकराज गिरीको कथा रहेको फिल्मको पटकथा तथा संवाद दीपकराज गिरीले तयार पारेका हुन् । दीपाश्री निरौला सल्लाहकारका रूपमा रहेकी छन् ।

फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईसँगै कर्मा, रिहान गिरी, मेक्सम गौडेल, रमा थपलिया, प्रकाश घिमिरे, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ । निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माता हुन् ।

‘छ माया छपक्कै २’ असोज ३१ गते फूलपातीका दिनदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

Leave a Reply