‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक

काठमाडौं । आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘जलाकी’ले प्रचारप्रसारलाई तीव्र बनाउँदै नयाँ गीत सार्वजनिक गरेको छ । निर्माण टिमले फिल्ममा समावेश रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक गरेको हो ।

प्रेमभावले भरिएको गीतमा रोहित सोनार र मेलिना राईको स्वर रहेको छ । सरित रायनको संगीत तथा कम्पोज र राम अबिरल बिष्टको शब्द रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार उपासना सिंह ठकुरी र सोनम तोप्देनलाई विशेष रूपमा प्रस्तुत गरिएको छ । उनीहरूसँगै शिल्पा मास्के, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु र दीपिका मगर पनि भिडियोमा देखिएका छन् ।

प्रेमी–प्रेमिकाबीचको आकर्षण र प्रेमलाई चित्रण गरिएको गीतमा उपासना र सोनमको जोडी आकर्षक देखिन्छ । कलाकारहरूको पहिरन, लोकेसन र स्वाभाविक हाउभाउले भिडियोमा थप रोचकता थपेको छ ।

‘खुस्मा’का निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको ‘जलाकी’बाट यसअघि ‘चाँदी जलप’, ‘जाले रुमाल मायालाई’ र ‘कलेजीको छेउ’ बोलका गीत सार्वजनिक भइसकेका छन् । सार्वजनिक तीनवटै गीतले युट्युब र टिकटकमा दर्शक तथा स्रोताबाट राम्रो प्रतिक्रिया पाएका छन् ।

मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा लिइने ढुङ्गाबाट निर्मित स्तम्भलाई ‘जलाकी’ भनिन्छ । यही सांस्कृतिक प्रतीकलाई आधार बनाएर निर्देशक मगरले फिल्ममा मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावनात्मक पक्षलाई कथामार्फत प्रस्तुत गरेका छन् ।

फिल्ममा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायतको अभिनय छ । क्याप्टेन विजय लामा विशेष भूमिकामा देखिनेछन् भने मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर बालकलाकारका रूपमा छन् । यसै फिल्मबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली फिल्ममा डेब्यु गर्दैछिन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मका निर्माता ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् ।

फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले गर्नेछन् ।

Leave a Reply