दयाहाङ भन्छन्– ‘प्रेम पाएपछि काजीको जीवनको व्यावहारिक पाटो सुरु हुन्छ’

काठमाडौं । ‘कबड्डी’ शृंखलाका अघिल्ला भागमा काजीको मुख्य संघर्ष मैयाँलाई पाउने वरिपरि केन्द्रित थियो । तर पाँचौँ भागसम्म आइपुग्दा काजीको जीवनमा प्रश्न फेरिएको छ– प्रेम पाएपछि जीवन कसरी अघि बढाउने ?

अभिनेता दयाहाङ राईका अनुसार रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले यही प्रश्नको व्यावहारिक पाटो खोतल्छ । प्रेमसँगै परिवार, समाज, साथीभाइ र व्यक्तिगत जिम्मेवारीबीच काजीले गर्नुपर्ने सम्झौता यसपटक कथाको महत्वपूर्ण पक्ष बनेको उनको भनाइ छ ।

‘प्रेम प्राप्तिको संघर्षबाट अघि बढिसकेको काजीको जीवनमा अब प्रेमसँगै परिवार, समाज, साथीभाइ र व्यक्तिगत जिम्मेवारीको प्रभाव दर्शकले देख्न पाउनुहुनेछ,’ राईले भने, ‘प्रेम पाएपछि त्यसको व्यावहारिक पाटो पनि हुन्छ । त्यही पाटो हेर्न नै ‘कबड्डी ५’ बनेको हो ।’

आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा काजीको प्रेमकथा नयाँ मोडमा पुग्छ । पहिलो भागदेखि पाँचौँसम्म आइपुग्दा काजीको चरित्रसँगै उसको जीवन भोगाइमा पनि परिवर्तन आएको राई बताउँछन् । त्यसैले यसपटकको काजी विगतका भागको भन्दा केही फरक देखिने उनको भनाइ छ ।

मैयाँ फर्किएपछि काजीमा आएको परिवर्तन

‘कबड्डी’ शृंखलामा काजी र मैयाँको सम्बन्ध सुरुदेखि नै महत्वपूर्ण रहँदै आएको छ । पाँचौँ भागमा मैयाँसँगको पुनर्मिलनले काजीको जीवनमा पुरानो प्रेमसँगै नयाँ परिस्थिति पनि ल्याउनेछ ।

राईका अनुसार यसपटक काजीको प्राथमिकता केवल प्रेम प्राप्तिमा सीमित छैन । परिवार, समाज र साथीभाइसँगको सम्बन्धलाई सम्हाल्दै आफ्नो सपना अघि बढाउनुपर्ने अवस्था उसको जीवनमा आएको छ ।

‘यसपटक एउटा इनर्जी, उमेर, आफ्नोपनभन्दा पनि परिवार, समाज, साथीभाइ धेरै चिजसँग काजीले सम्झौता गर्छ । किनभने त्यहाँ उसको सपना जोडिएर गएको छ,’ उनले भने, ‘हिजो प्रेम प्राप्त गर्नु थियो, यसपटक उसले धेरै चिजसँग सम्झौता गरेर जान्छ ।’

लामो समयदेखि प्रेम गरेको ‘सोल्टिनी’ मैयाँ फेरि जीवनमा फर्किएपछि काजीमा स्वाभाविक रूपमा हलचल आउने राई बताउँछन् । तर उमेर र परिस्थितिसँगै उसको सोच पनि बदलिएको छ ।

‘हरेकको जीवनमा त्यो हुन्छ होला नि । एउटा उमेरसम्म यो चिज मेरा लागि केही होइन, मलाई आफ्नो निर्णय गर्न देऊ भन्ने हुन्छ । एउटा समय पार गरेपछि उसलाई परिवार, साथीभाइ र समाज पनि चाहिन्छ,’ उनले भने, ‘त्यो सबै चिजसँग उसले ट्याकल गर्दै जाँदा सम्झौता पनि गर्दै जानेछ ।’

राजनीतिक परिवर्तनको प्रभाव पनि

‘कबड्डी ५’ मा काजीको व्यक्तिगत जीवनसँगै बदलिँदो राजनीतिक परिवेशको प्रभाव पनि देखिने राईले बताएका छन् । यद्यपि यसपटक राजनीतिक विषयलाई कथाको मूल विषय भने नबनाइएको उनको भनाइ छ ।

‘पछिल्लो समयको राजनीतिले गर्ने असर, राजनीतिक परिवर्तनसँगै आउने अपेक्षाहरू र परिवर्तनपछिका सपनाहरूको प्रभाव देख्न सकिन्छ,’ उनले भने, ‘तर दोस्रो भागमा जसरी हामीले राजनीतिक विषय नै उठाएका थियौँ, त्यस्तो विषयचाहिँ समेटिएको छैन ।’

समयसँगै आएको परिवर्तनले काजीको सोच र मनोदशामा पार्ने प्रभाव भने फिल्ममा देख्न सकिने उनले बताए ।

यसअघिका शृंखलामा जस्तै यसपटक पनि साथीहरूको उक्साहटले काजीको जीवनमा पार्ने प्रभाव महत्वपूर्ण रहने उनको भनाइ छ । त्यसको जवाफ भने फिल्म प्रदर्शनपछि मात्रै दर्शकले पाउनेछन् ।

‘काजी मेरै साथी जस्तो लाग्छ’

करिब १५ वर्षदेखि काजीको चरित्रसँग जोडिएर काम गरिरहेका दयाहाङलाई अहिले यो पात्र पर्दाको चरित्रभन्दा पनि आफ्नै साथी जस्तो लाग्न थालेको छ ।

‘यतिका वर्ष गरिसक्दा काजी क्यारेक्टर छोड्छु जस्तो लाग्दैन, तर नजिकको साथी जस्तो आभास हुन्छ,’ उनले भने ।

‘कबड्डी’को दोस्रो भागमा काजीको चरित्रलाई कसरी अघि बढाउने भन्ने विषय आफूलाई चुनौतीपूर्ण लागेको उनले स्मरण गरे । तर लामो यात्राका क्रममा मानिसको जीवनमा आउने परिवर्तनसँगै काजीको चरित्रलाई पनि अघि बढाउँदै लगिएको उनको भनाइ छ ।

‘दोस्रो भाग गर्दा चाहिँ मलाई निकै कठिन भएको थियो । काजी क्यारेक्टर कसरी अगाडि बढ्छ भनेर,’ उनले भने, ‘तर एउटा जर्नीमा उभिएर हेर्दा हाम्रो जीवनमा जसरी परिवर्तन आउँछ, त्यसरी नै अगाडि लगेको छु ।’

पहिलोदेखि पाँचौँ भागसम्म आइपुग्दा काजीले भोगेको करिब १५ वर्षको जीवनयात्रासँग काम गर्न आफूलाई रमाइलो लागेको उनले बताए ।

६५ वर्षपछिको काजी पनि बनाउने सोच

काजीसँगको लामो सम्बन्धका कारण भविष्यमा पनि यी पात्रहरूको कथा अघि बढाउने सोच आफूमा रहेको राईले सुनाए । उनका अनुसार काजीसहितका पात्रहरूलाई अझ वृद्ध अवस्थामा कल्पना गरेर कथा बनाउने इच्छा छ ।

‘यिनै पात्रहरूको ६५ वर्षपछिको मनोदशा कस्तो हुन्छ होला ? सबै पात्रहरू कहाँ के गरिरहेका होलान् ? भन्ने तरिकाले बनाउन मन छ,’ उनले भने ।

निर्देशक रामबाबु गुरुङले त्यस्तो कथा नबनाए आफूले नै बनाउने सोच रहेको उनले बताए । ‘रामबाबुले नगरे पनि म गर्छु भन्ने सोच छ,’ उनले भने ।

लामो समय एउटै पात्रसँग काम गर्दा त्यसप्रति मोह बढ्दै जाने र आफ्नै साथी जस्तो अनुभूति हुने राई बताउँछन् । ‘१५ वर्ष अघिदेखिको काजी पात्रसँगको कनेक्सन र हाम्रो भोगाइले पनि होला, काजी पात्रहरूप्रति एकदमै मोह जाग्ने रहेछ,’ उनले भने ।

कलाकार र प्राविधिक टोली

निर्देशक गुरुङकै कथा रहेको फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङ मुख्य भूमिकामा छन् ।

फिल्ममा पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको पनि अभिनय छ ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ । सागर राज कार्यकारी निर्माता हुन् ।

कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत रहेको फिल्ममा सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ । मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन् ।

नेपालमा फिल्मको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ ।

Leave a Reply