काठमाडौं । नेपाली फिल्मका दुई चर्चित अभिनेता पल शाह र प्रदीप खड्का दोस्रो पटक एउटै फिल्ममा देखिने भएका छन् । कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्म ‘उही तिम्रो’मार्फत पल र प्रदीप पुनः एकसाथ पर्दामा देखिन लागेका हुन् ।
केपी फिल्म्स र पुरुषोत्तम फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको आज पूजा गर्दै शुभमुहूर्त गरिएको छ । विशाल चौलागाईंको निर्माण रहने फिल्ममा पल र प्रदीपसँगै अभिनेत्री सिम्रन पन्त र नवअभिनेत्री जुना विश्वकर्माको मुख्य भूमिका रहनेछ । जुनाले यही फिल्ममार्फत अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।
फिल्मको छायांकन आगामी मंसिरबाट म्याग्दीका रमणीय स्थानमा सुरु हुनेछ । त्यसपछि काभ्रेको बनेपामा पनि छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।
फिल्ममा पल, प्रदीप, सिम्रन र जुनासँगै लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमल्सिना र सुरज तमुलगायत कलाकारको अभिनय रहनेछ । फिल्मको कथा तथा संवाद अभिमन्यु निरविले लेखेका हुन् ।
कृषा चौलागाईंको निर्देशन रहने फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । फिल्मका फाइनान्स म्यानेजर सविन ढुंगाना र प्रोडक्सन म्यानेजर रविन बख्रेल हुन् । फिल्ममा सुरेश अधिकारी, राजनराज सिवाकोटी र हर्क साउदको संगीत रहनेछ भने वसन्त अधिकारी मुख्य सहायक निर्देशकका रूपमा रहनेछन् ।
आरआर फिल्म्सले वितरण गर्ने फिल्मका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ हुन् । ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर रहेको छ । फिल्म आगामी नयाँ वर्षलाई लक्षित गरी प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।
News Filmy Newsportal / Nepal

