प्रदर्शन रोक्ने चर्चाबीच ‘पाँच पाण्डव’को बुकिङ खुला, भोलिदेखि प्रदर्शन हुने

काठमाडौं । प्रदर्शन रोक्न निर्देशन दिइएको चर्चाले अन्योल सिर्जना भइरहेका बेला फिल्म ‘पाँच पाण्डव’को निर्माण टिमले भने पूर्वनिर्धारित मितिमै फिल्म प्रदर्शन गर्ने अडान दोहोर्‍याएको छ । निर्माण टिमले बिहीबार (कात्तिक २०) देखि देशभरका हलमा फिल्म प्रदर्शन हुने स्पष्ट पारेको हो ।

निर्माण टिमले विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन मिति परिवर्तन नभएको जनाएको छ । “हाम्रो फिल्म ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मिति अर्थात् कात्तिक २० गते (भोलि)देखि नै देशभरका सम्पूर्ण हलहरूमा यथावत् प्रदर्शन हुने जानकारी गराउन चाहन्छौँ,” विज्ञप्तिमा भनिएको छ ।

 

धार्मिक विषयलाई लिएर उठेको विवादका बीच निर्माण टिमले भने फिल्मले कुनै पनि धर्म, धार्मिक आस्था वा धार्मिक स्थलको अपमान गर्ने उद्देश्य नराखेको स्पष्ट पारेको छ । सबै धर्म, संस्कृति र आस्थाप्रति आफ्नो उच्च सम्मान रहेको जनाउँदै निर्माण टिमले दर्शकको साथ र सद्भावको अपेक्षा गरेको छ ।

यसैबीच, फिल्मको बुकिङ बुधबारदेखि नै खुलिसकेको छ । बसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकारको अभिनय छ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्मित फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ हुन् । यसअघि नवीनले गतवर्ष फिल्म ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई लेखकले ‘सोसल ड्रामा’का रूपमा व्याख्या गरेका छन् । महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको उनको भनाइ छ ।

फिल्ममा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रङ्ग संयोजन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी तथा अर्जुन पोखरेलको संगीत रहेको छ । उत्तम न्यौपानेको साउन्ड डिजाइन र सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक रहेको फिल्ममा डल्बी एटमस साउन्डको अनुभव पनि दर्शकले लिन पाउनेछन् ।

तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्मलाई आरआर फिल्मसले देशव्यापी वितरण गर्दैछ । यसको डिजिटल पार्टनर ओएसआर डिजिटल हो ।

Leave a Reply