काठमाडौ। सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘जुबा’को छायांकन सम्पन्न भएको छ। अस्त्र फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्मको छायांकन ९० दिनमा पूरा गरिएको निर्माण टिमले जनाएको छ।
फिल्मको छायांकन नेपालको सर्लाही, दाप्चा, काठमाडौं र भक्तपुरसँगै भारतको राजस्थानमा गरिएको हो। निर्माण टिमका अनुसार कथावस्तु र दृश्यको आवश्यकताअनुसार निर्धारित तालिकाभन्दा बढी समय लिएर छायांकन पूरा गरिएको हो।
कलाकार तथा प्राविधिकको मेहनत र सहकार्यमा छायांकन सम्पन्न भएको जनाउँदै निर्माण टिमले अब पोस्ट–प्रोडक्सनलाई पनि प्राथमिकतामा राख्ने जनाएको छ। दर्शकलाई उत्कृष्ट फिल्म प्रस्तुत गर्ने उद्देश्यले निर्माणको हरेक चरणमा गुणस्तरलाई प्राथमिकता दिइएको टिमको भनाइ छ।
अस्त्र फिल्मसको ब्यानरमा निर्मित फिल्मकी निर्मात्री सजना थापा र सहनिर्माता शेखर पाण्डे हुन्। प्रकाश कर्णको कथा तथा निर्देशन रहेको फिल्मको लेखन वर्षा पौडेलले गरेकी छन्।
फिल्ममा सौगात मल्लसँगै सोफी धरेल र सुधन पोखरेल मुख्य भूमिकामा छन्। सोफीले ‘जुबा’बाट अभिनयमा डेब्यु गर्दैछिन्। सुधनको यो तेस्रो फिल्म भए पनि मुख्य भूमिकामा भने पहिलो हो। उनले यसअघि अभिनय गरेका दुई फिल्म प्रदर्शन हुन बाँकी छन्।
फिल्म निर्माणको घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको थियो। पोस्टरमा सौगातको एकल लुक्स, पीसीओबाट फोनमा कुराकानी गरिरहेको दृश्य तथा सिगारसहित सुधनको लुक्स प्रस्तुत गरिएको थियो। सुधनको लुक्सले उनको भूमिका खलपात्रको हुन सक्ने संकेत गरेको थियो।
कलाकारको पहिरन, गेटअप र दृश्य परिवेशले फिल्मको कथा करिब दुई दशकअघिको समयसँग सम्बन्धित हुन सक्ने संकेत गरे पनि निर्माण टिमले कथावस्तुबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
‘जुबा’को प्रदर्शन मिति भने तय भइसकेको छैन। पोस्ट–प्रोडक्सनको प्रगतिसँगै उपयुक्त प्रदर्शन मिति तय गरी सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ।
News Filmy Newsportal / Nepal