काठमाडौं । कस्तुरी प्रोडक्सन प्रालिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रालिको सहकार्यमा निर्माण भइरहेको फिल्म ‘सिन्दूर’को छायांकन अहिले दाङमा भइरहेको छ । लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भइरहेको फिल्ममा सञ्जिव सार्कीको लगानी छ ।
फिल्मको छायांकन सुरु हुँदा पुष्प खड्का र प्रशंसा रायमाझीको नाम सार्वजनिक गरिएको थियो । अहिले भने निर्माण टिमले अभिनेता विपिन कार्की र अभिनेत्री निरुता सिंह पनि फिल्ममा जोडिएको जानकारी दिएको छ ।
निर्देशक सुनारका अनुसार निरुताले केही दिनमै फिल्मको छायांकन सुरु गर्नेछिन् भने विपिनले दशैंपछि छायांकनमा सहभागी हुनेछन् । दुवै कलाकारको भूमिकाबारे भने निर्माण पक्षले खुलाएको छैन ।
फिल्ममा संकल्प भुजेलको छायांकन, प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहेको छ । प्रकाश हमाल निर्माण प्रमुख छन् भने करणबहादुर साउद मुख्य सहायक निर्देशक र रामजी लामिछाने नृत्य निर्देशकका रूपमा छन् ।
रोहित वली र विकेश लामा प्रोडक्सन म्यानेजरका रूपमा रहेको फिल्ममा एनबी महर्जनको एक्सन तथा मदन सुरखेतीको सह–लेखन छ । फिल्मको प्रदर्शन मिति भने तय भइसकेको छैन ।
एक महिनाको छायांकन तालिका बनाएर काम भइरहेको फिल्मले सामाजिक विषयवस्तुलाई कथाको केन्द्रमा राखेको निर्देशक सुनारले बताए । उनका अनुसार महिलाका लागि सिन्दूरको महत्व र त्यससँग जोडिएका सामाजिक तथा भावनात्मक पक्षलाई फिल्ममा प्रस्तुत गरिनेछ ।
News Filmy Newsportal / Nepal