काठमाडौं । सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘बाटुलो जून’को टिजर सार्वजनिक भएसँगै चर्चामा आएको छ । अभिनेता अनमोल केसी स्टारर फिल्मको टिजर युट्युबको फिल्म चार्टमा नेपालतर्फ शीर्ष स्थानमा पुगेको हो ।
शुक्रबार सार्वजनिक गरिएको टिजर रिलिजको तीन दिनमै युट्युबको फिल्म चार्टमा नेपालतर्फ पहिलो स्थानमा पुगेको निर्माण पक्षले जनाएको छ । नेपालसँगै विभिन्न एक दर्जनभन्दा बढी देशमा समेत टिजर ट्रेन्डिङमा रहेको जनाइएको छ ।
‘बाटुलो जून’ले ३० को दशकको प्रेमकथालाई प्रस्तुत गरेको छ । आदर्श प्रेमलाई केन्द्रमा राखिएको फिल्ममा तत्कालीन सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई कथामार्फत प्रस्तुत गरिएको निर्माण पक्षको भनाइ छ । पछिल्लो पुस्ताको प्रविधिमैत्री र तीव्र गतिमा बदलिँदो प्रेमभन्दा फरक तत्कालीन समाज र सम्बन्धको परिवेशलाई फिल्ममा समेटिएको छ ।
फिल्मलाई भुवन केसीले निर्देशन गरेका हुन् । अनमोल केसीसँगै प्रिन्सी खतिवडा प्रमुख भूमिकामा छन् । टिजरमा अनमोलको गेटअप, संवाद वाचन र अभिनयलाई दर्शकले रुचाएका छन् । डेब्यु अभिनेत्री प्रिन्सीको उपस्थितिले पनि दर्शकको ध्यान खिचेको छ ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्म आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत फिल्ममा छ । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकका रूपमा छन् ।
जिया केसी र भविष्य खड्काले निर्माण गरेको फिल्ममा विवेक थापा सह–निर्माता रहेका छन् ।
News Filmy Newsportal / Nepal