काठमाडौं । ‘आ बाट आमा’, ‘नरसिमा’, ‘पार्वती’, ‘आउटल’ हुँदै प्रदर्शनको तयारीमा रहेको ‘आ बाट आमा २’ सम्म आइपुग्दा सम्पादक साहिल खानले करिब २० वटा फिल्मको पूर्ण सम्पादन गरिसकेका छन् । ४५० भन्दा बढी टिजर तथा ट्रेलर सम्पादन गरेका खानका लागि फिल्म सम्पादन र टिजर–ट्रेलर निर्माण फरक प्रकृतिका सिर्जनात्मक काम हुन् ।
खानका अनुसार पूर्ण फिल्म सम्पादन गर्दा स्क्रिप्टको मर्म, कथाको प्रवाह, निर्देशकको दृष्टिकोण र सम्पादकको दृष्टिकोणबीच सन्तुलन आवश्यक हुन्छ । त्यसका लागि लामो समय, धैर्य र निर्माण टिमसँग निरन्तर छलफल गर्नुपर्ने हुन्छ ।
‘फिल्म सम्पादन गर्दा स्क्रिप्टको मर्मलाई समात्नुपर्छ । निर्देशकको भिजनसँग तालमेल मिलाउँदै दर्शकलाई दृश्यको प्रवाह सहज हुने गरी पेसिङ मिलाउनुपर्छ,’ खानले भने, ‘हरेक दृश्य, भावना र कथाको गतिका विषयमा निर्देशक तथा लेखकसँग छलफल गरेर अघि बढ्नुपर्ने भएकाले फिल्म सम्पादन अनुशासित र जिम्मेवार काम हो ।’
उनका अनुसार टिजर तथा ट्रेलर सम्पादनको प्रक्रिया भने केही फरक हुन्छ । फिल्मको कथा र निर्देशकको दृष्टिकोणलाई आधार बनाएर सीमित समयभित्र दर्शकमा कौतूहल सिर्जना गर्ने भएकाले सम्पादकले आफ्नो सिर्जनशीलतालाई बढी स्वतन्त्र रूपमा प्रयोग गर्न सक्छन् ।
‘टिजर–ट्रेलरमा आफ्नो क्रिएटिभिटी प्रयोग गर्न पाइन्छ । फिल्मका उत्कृष्ट दृश्य छनोट गरेर छोटो समयमै दर्शकको ध्यान तान्ने र फिल्मप्रति कौतूहल जगाउने प्रयास हुन्छ,’ उनले भने, ‘त्यसैले टिजर–ट्रेलरमा काम गर्दाको अनुभव छुट्टै हुन्छ ।’
खान अहिले ‘आ बाट आमा २’ को अन्तिम सम्पादनमा व्यस्त छन् । यसअघि उनले ‘आ बाट आमा’ को सम्पादन गरेका थिए । उक्त फिल्मले बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको निर्माण पक्षको दाबी छ ।
‘आ बाट आमा २’ को टिजर र ‘अचेल किन कान्छी’ गीतले युट्युबमा ५० लाखभन्दा बढी भ्युज पाइसकेको निर्माण टिमले जनाएको छ । टिजरमा गरिएको दृश्य संयोजन र सम्पादनले दर्शकको ध्यान खिचेपछि फिल्मको सम्पादनलाई लिएर पनि निर्माण टिम आशावादी देखिएको छ ।
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा पल शाह र मलिका महत मुख्य भूमिकामा छन् । पारिवारिक कथामा आधारित फिल्म आगामी असोज ३० गते बडादशैँको अवसर पारेर देशभर प्रदर्शनमा आउने तयारीमा छ ।
News Filmy Newsportal / Nepal