काठमाडौ । नेपाली फिल्म ‘हिमालयन गोल्ड’ले भारतभर प्रदर्शनका लागि प्रतिष्ठित भारतीय वितरक कम्पनी एए फिल्म्ससँग सम्झौता गरेको छ। एए फिल्म्समार्फत भारतभर एकसाथ प्रदर्शनको अवसर पाउने ‘हिमालयन गोल्ड’ पहिलो नेपाली फिल्म बनेको निर्माण टिमको दाबी छ।
धिराज राजवंशीको लेखन तथा निर्देशनमा तयार भएको फिल्म आगामी मंसिर ४ गते अर्थात् नोभेम्बर २० मा रिलिज हुँदैछ। मुम्बईमा एए फिल्म्सका संस्थापक तथा भारतका शीर्ष वितरकमध्ये एक अनिल थडानीसँग फिल्मको औपचारिक सम्झौता भएको हो।
एए फिल्म्सले ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘बाहुबली’, ‘आरआरआर’, ‘केजीएफः च्याप्टर २’, ‘पुष्पा’ र ‘कान्तारा’ लगायतका चर्चित भारतीय फिल्म वितरण गरिसकेको छ।
भारतमा फिल्मको प्रदर्शनबारे एए फिल्म्सका संस्थापक अनिल थडानीले भाषा र भूगोलभन्दा माथि उठेर उत्कृष्ट कथावस्तुलाई भारतीय दर्शकमाझ पुर्याउने उद्देश्य रहेको बताएका छन्।
‘हिमालयन गोल्ड’को कथावस्तु सम्पूर्ण भारतीय दर्शकले अनुभव गर्नुपर्ने किसिमको रहेको बताउँदै उनले फिल्मको प्रतिभाशाली टोलीसँग जोडिन पाउनु आफ्नो कम्पनीका लागि गर्वको विषय भएको उल्लेख गरेका छन्। भाषाको सीमाभन्दा माथि उठेर भारतीय दर्शकले फिल्मलाई माया गर्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
भारतभर प्रदर्शनको अवसर पाएकोमा निर्देशक धिराज राजवंशीले खुसी व्यक्त गरेका छन्। उनले यो उपलब्धि आफ्नो व्यक्तिगत यात्रासँगै सम्पूर्ण नेपाली फिल्म उद्योगकै लागि महत्वपूर्ण रहेको बताए।
‘हिमालयन गोल्ड’को सम्भावनालाई विश्वास गरेर भारतभर प्रदर्शनको अवसर दिएकोमा अनिल थडानी र एए फिल्म्सप्रति आभार व्यक्त गर्दै राजवंशीले यो सहकार्यले फिल्मलाई ठूलो दर्शकवर्गसम्म पुर्याउन सहयोग गर्ने बताए।
फिल्ममा सुनिल थापा, राहुल एन. मुखिया, परीक्षा लिम्बू, सजन थापा र कर्मा शाक्यको मुख्य भूमिका छ। फिल्म दिग्गज अभिनेता सुनिल थापाको अन्तिम प्रस्तुति भएको निर्माण टिमले जनाएको छ।
दशकौँदेखि नेपाली फिल्म क्षेत्रमा योगदान दिएका थापाको अन्तिम फिल्मलाई नेपालसँगै भारतका दर्शकमाझ पुर्याउनु उनको विरासतप्रतिको सम्मान हुने निर्देशक राजवंशीले बताए।
फिल्म प्रदर्शनमा आउन दुई महिनाभन्दा कम समय बाँकी रहँदा यसको बहुप्रतीक्षित ट्रेलर आगामी सोमबार सार्वजनिक गरिँदैछ। निर्माण टिमले नेपाल र भारतका दर्शकलाई फिल्म हलमा पुगेर ‘हिमालयन गोल्ड’ हेर्न तथा हिमालयको भव्यतालाई पर्दामा अनुभव गर्न आह्वान गरेको छ।
News Filmy Newsportal / Nepal