काठमाडौ। निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को नयाँ गीत ‘थाक खोला’ सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार बाँसुरी फिल्मस्को अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो।
गीतमा कालीप्रसाद बास्कोटाको स्वर, शब्द र संगीत छ। गीतको संगीत संयोजन, गिटारवादन तथा मिक्सिङ–मास्टरिङ रिकेश गुरुङ किजले गरेका छन्। सारंगीमा हेमन्त कान्छा रसाइली र बेस गिटारमा कृष्ण लिम्बूले साथ दिएका छन्।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ र सिर्जना गुरुङ फिचर्ड छन्। भिडियोमा दयाहाङको मिरुना, सिर्जना र रिश्मासँगको प्रेम, नोकझोक र सम्बन्धका विभिन्न पाटोलाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ।
दयाहाङको तीन पात्रसँगको सम्बन्ध र उनीहरूबीचको रमाइलो नोकझोकले गीतलाई मनोरञ्जनात्मक बनाउनुका साथै फिल्मको कथाप्रति दर्शकको कौतुहलता बढाउने देखिन्छ।
भिडियोमा थाक खोला, सेताम्य हिमाल र हरियाली डाँडापाखाका प्राकृतिक दृश्यले थप आकर्षण थपेका छन्। प्राकृतिक सौन्दर्यसँगै पात्रहरूको सम्बन्ध र भावनालाई केन्द्रमा राखिएको भिडियोले फिल्मको कथाशैलीलाई पनि निरन्तरता दिएको छ।
विशेषगरी गीतमा छुट्टै नृत्य वा कोरियोग्राफीलाई प्राथमिकता दिइएको छैन। फिल्मकै कथाभित्रका दृश्य र पात्रहरूको सम्बन्धमार्फत प्रेम, नोकझोक तथा भावनालाई प्रस्तुत गरिएको छ।
News Filmy Newsportal / Nepal