काठमाडौं । बलिराम चौहानको निर्देशनमा बन्न लागेको फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त गरिएको छ। निर्माण टिमले ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा गर्दै फिल्मको शुभ मुहूर्त गरेको हो। कार्यक्रममा निर्देशक चौहान, निर्माता भोलानाथ कटुवालसहित फिल्मका अधिकांश मुख्य कलाकारको उपस्थिति थियो।
निर्देशक चौहानका अनुसार फिल्मको छायांकन बुधबारदेखि काठमाडौंको लाजिम्पाटबाट सुरु हुनेछ। ३५ दिनको छायांकन तालिका तय गरिएको फिल्मको छायांकन काठमाडौंसँगै झापा र सुनसरीको इटहरी क्षेत्रमा गरिनेछ।
स्काई फल पिक्चर्सको प्रस्तुतिमा बन्न लागेको फिल्मको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ। नेपाली युवापुस्ताले साथीभाइबीचको किचकिच, एउटै विषयमा बारम्बार गरिने दबाब वा मानसिक तनावलाई जनाउन ‘ल्याङ्ग ल्याङ्ग’ शब्द प्रयोग गर्ने गर्छन्।
फिल्मले यही युवा चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढावलाई कथाको केन्द्रमा राख्ने निर्देशक चौहानले बताए। उनका अनुसार फिल्मले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा प्रस्तुत गर्नेछ।
‘विशेषगरी युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्नेछौं,’ निर्देशक चौहानले भने।
फिल्ममा रिहान गिरी, सन्तोष बानियाँ, जीवन जंग बस्न्यात, गुराँस ढकाल, प्रज्वल दुलाल, बिनोद सिंह थापा, सुप्रिया खनाल, हिउँवाला गौतम, सवी थापा, श्रेया श्रेष्ठ, सुगम दुलाल र सिर्जना बानियाँलगायत कलाकारको अभिनय रहनेछ।
फिल्मको कथा बलिराम चौहान र उपाश्री खतिवडाले संयुक्त रूपमा तयार पारेका हुन्। भोलानाथ कटुवालको लगानी रहने फिल्म स्काई फल पिक्चर्सको ब्यानरमा निर्माण हुनेछ।
फिल्ममा रवी रोक्काको छायांकन, अर्जुन पोखरेल, प्रशान्त शिवाकोटी र अभिषेक निरौला (एनमक्स)को संगीत, महेश मगरको प्रोडक्सन म्यानेजमेन्ट, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइन, साश्वत श्रेष्ठको बीजीएम तथा मित्र डी गुरुङको सम्पादन रहनेछ।
News Filmy Newsportal / Nepal