‘टनेल २६’को ट्रेलर सार्वजनिक, असोज २३ देखि नेपाल र भुटानमा प्रदर्शन

काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरस्थित लबिम मलमा आयोजित कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

डिजास्टर जनरामा निर्माण भएको फिल्म आगामी असोज २३ गते अर्थात् अक्टोबर ९ देखि नेपाल र भुटानका हलमा प्रदर्शनमा आउनेछ। ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका नेपाली तथा भुटानी निर्माता सहभागी थिए भने कार्यक्रममा सहभागी हुन भुटानबाट १६ सदस्यीय टोलीसमेत नेपाल आएको थियो।

सार्वजनिक ट्रेलरमा भुटानको एक जलविद्युत् सुरुङभित्र भएको हताहतीको घटनापछि उत्पन्न संकट र त्यसबाट सिर्जना हुने परिस्थितिलाई प्रस्तुत गरिएको छ। निर्माण टिमका अनुसार फिल्म भुटानमा घटेका वास्तविक घटनाबाट प्रेरित छ। फिल्मलाई कृत्रिम सेटमा मात्र सीमित नराखी कथालाई प्रेरणा दिएको भुटानस्थित वास्तविक सुरुङभित्र समेत महत्वपूर्ण दृश्यको छायांकन गरिएको छ।

फिल्मको छायांकन करिब १०० दिनसम्म गरिएको थियो। कथाको भौगोलिक परिवेश र दृश्यात्मक आवश्यकतालाई ध्यानमा राखेर लामो समयसम्म गरिएको छायांकनसँगै भीएफएक्स र दृश्य प्रभावमा समेत विशेष काम गरिएको निर्माण पक्षले जनाएको छ।

‘टनेल २६’लाई सङ्गे फिल्म्स र पिक एक्सभीले प्रस्तुत गरेका हुन्। फिल्मको निर्माणमा दोर्जी वाङ्चुक नेतृत्वको डोर्जिस प्रोडक्सन, प्रशान्त कुमार गुप्ता तथा कृष्ण गुप्ताको नेतृत्वको रेल्टिक पिक्चर्स, भुटान सरकारअन्तर्गतको DoMCIIP तथा निर्देशक डीडी किन्लेको रोलिङ इमेज पिक्चर्सको सहकार्य रहेको छ।

फिल्मका कार्यकारी निर्माता दोर्जी वाङ्चुक हुन् भने नेपाली अभिनेता प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा जोडिएका छन्। खड्काले फिल्मको रचनात्मक तथा कलात्मक विकासमा समेत योगदान दिएका छन्। उनले कार्यक्रममा आफू फिल्ममा निर्माताका रूपमा मात्र जोडिएको र कलाकारका रूपमा नरहेको स्पष्ट पारे।

ट्रेलर रिलिज कार्यक्रममा निर्माता निर्वाण चौधरीले फिल्म निर्माणमा आफू साझेदार भएर अगाडि बढ्न पाउँदा खुसी लागेको बताए। उनले आफ्ना बुबा विनोद चौधरीले चार दशकअघि फिल्म निर्माण गरेको स्मरण गर्दै आफूले पनि फिल्म निर्माणलाई निरन्तरता दिने बताए। नेपाल र भुटानको टिमसँग मिलेर काम गर्न पाउँदा आफू उत्साहित रहेको उनको भनाइ थियो।

क्रिएटिभ निर्माता प्रदीप खड्काले निर्वाण चौधरीसँगै भुटानमा उत्कृष्ट काम गरिरहेका कलाकार तथा प्राविधिकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

फिल्मका मुख्य कलाकार तथा अर्का निर्माता सङ्गे छेल्ट्रिमले ‘टनेल २६’ बलिउड मात्र नभई हलिउडस्तरको फिल्म बनेको दाबी गर्दै दर्शकलाई फिल्म हेर्न आग्रह गरे। नेपाल र भुटानको संयुक्त टिमले काम गरेकाले फिल्म राम्रो बनेको उनको भनाइ थियो।

कार्यक्रममा छेल्ट्रिमले नेपालमा पछिल्लो समय आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै फिल्मको कुल आम्दानीको २५ प्रतिशत अर्थात् आफ्नो सेयरको ५० प्रतिशत रकम नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने घोषणा गरे।

फिल्मका लेखक, निर्देशक तथा सम्पादक डीडी किन्लेले फिल्मका विषयमा धेरै कुरा बोल्नुभन्दा प्रदर्शनपछि दर्शकले हेरेर मूल्यांकन गर्ने बताए।

फिल्ममा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायत कलाकारको अभिनय छ।

प्रदीपका लागि ‘टनेल २६’ चौथो निर्माण सहकार्य हो। यसअघि उनले ‘स्केप’, ‘ठुलो मान्छे’ र ‘एक्लो’मा निर्माण सहकार्य गरेका थिए।

फिल्मको छायांकन दीर्घ गुरुङ र सङ्गे टी. तेन्जिङले गरेका हुन्। राजु तामाङ एक्सन निर्देशक, कृष्ण शर्मा निर्माण डिजाइनर, पेमा लामो निर्माण व्यवस्थापक तथा ब्लु छेरिङ दोर्जी मेकअप तथा पोसाक विभाग प्रमुखका रूपमा छन्।

फिल्मको संगीत तथा ध्वनि सम्बन्धी काम थाइल्यान्डमा गरिएको हो। संगीतकार तेर्डसाक जानपानले पृष्ठभूमि संगीत तयार पारेका छन् भने करण थामावोङले ध्वनि डिजाइन तथा पुनः रेकर्डिङ मिक्सिङ सम्हालेका छन्। रथाकोर्न थोङनुनले संवाद सम्पादन तथा फोलीको काम गरेका छन्। फिल्मको दृश्य प्रभाव निफान स्टुडियोले तयार पारेको हो।

नेपालमा फिल्मको व्यवस्थापन लिभेन्टस् स्टुडियो प्रा.लि.ले गरेको हो भने सन्तोष कुमार कार्कीले व्यवस्थापन सम्हालेका छन्। फिल्मको टिजर यसअघि अगस्टमा सार्वजनिक गरिएको थियो।

 

Leave a Reply