सौरभ चौधरीको ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु

काठमाडौं । निर्देशक सौरभ चौधरीको महत्वाकांक्षी फिल्म ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु भएको छ। मंगलबार विराटनगरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो।

एपिक एक्सन ड्रामाका रूपमा निर्माण हुन लागेको फिल्मको छायांकनका लागि ७० दिनको तालिका तय गरिएको छ। फिल्मको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको छ।

फिल्ममा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ र अमरप्रताप श्रेष्ठ प्रमुख भूमिकामा देखिनेछन्।

फिल्ममा सौगात मल्लले चुनौतीपूर्ण भूमिका निर्वाह गर्ने निर्देशक चौधरीले बताएका छन्। उनका अनुसार सौगातले २५ वर्षको जवानदेखि ८० वर्षको वृद्धसम्मको जीवन यात्रा एउटै पात्रमार्फत पर्दामा प्रस्तुत गर्नेछन्। एउटै पात्रको लामो उमेर अन्तरलाई अभिनयमार्फत प्रस्तुत गर्नु सौगातका लागि महत्वपूर्ण चुनौती हुने निर्देशकको भनाइ छ।

निर्देशक चौधरीले पहिलोपटक दयाहाङ राईसँग सहकार्य गरेका हुन्। उनका अनुसार फिल्ममा दयाहाङलाई दर्शकले फरक चरित्रमा देख्न पाउनेछन्।

‘अगस्त्यः च्याप्टर १’मा सौगात मल्ल र विजय बरालसँग काम गरिसकेका सौरभले उनीहरूसँग पुनः सहकार्य गरेका हुन्। यस्तै, सुशील श्रेष्ठसँग पनि करिब ६ वर्षपछि उनको पुनर्मिलन भएको छ। उनीहरूले यसअघि सौरभकै पहिलो निर्देशकीय फिल्म ‘लभ डायरीज’मा सहकार्य गरेका थिए।

अर्का कलाकार अमरप्रताप श्रेष्ठले भने यही फिल्मका लागि निर्देशक चौधरीको निगरानीमा करिब साढे दुई वर्षदेखि प्रशिक्षण लिइरहेका थिए।

‘हामीले अभिनयमा अब्बल कलाकार भित्र्याएकोमा उत्साहित छु,’ निर्देशक चौधरीले भने।

फिल्मको कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका हुन्। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मलाई नेपाली फिल्मकै ठूलो स्केलको एक्सन फिल्म बनाउने निर्माण पक्षको दाबी छ।

प्रवेश चौधरी र निला देव निर्माता रहेको फिल्ममा विश्वास बस्नेत (बेन) को-प्रोड्युसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्। मानकृष्ण महर्जन डीओपी तथा श्री श्रेष्ठ एक्सन निर्देशकका रूपमा जोडिएका छन्।

फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल, पब्लिसिटी पार्टनर टौवा स्टुडियो तथा वितरक डीसीएन रहेका छन्।

Leave a Reply