काठमाडौं । गुरुङ समुदायको इतिहास, संस्कृति, सामाजिक जीवन र परम्परालाई कथावस्तु बनाउँदै नयाँ नेपाली फिल्म ‘बुकी फूल’ निर्माण हुने भएको छ। कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा गुरुङ परम्पराअनुसार शुभमुहूर्त गर्दै फिल्मको निर्माण सुरु गरिएको हो।
बेदबहादुर गुरुङ ‘श्याम’को परिकल्पना तथा निर्माण र ओमप्रकाश गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई कथाको केन्द्रमा राखिने निर्माण पक्षले जनाएको छ।
फिल्मको अधिकांश छायांकन कास्कीको सिक्लेस तथा आसपासका क्षेत्रमा गरिनेछ। शुभमुहूर्त कार्यक्रममा निर्देशक नवीन सुब्बा, मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङ, कलाकार तथा स्थानीयवासीको उपस्थिति थियो।
‘बुकी फूल’मा दयाहाङ राई, संस्कृति गुरुङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आलेमगर, माया गुरुङ, विश्वास गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, टीकाराम घले, ओसिन गुरुङ, लालशोभा गुरुङ, मनबहादुर गुरुङ र बेदबहादुर गुरुङ ‘श्याम’लगायत कलाकारको अभिनय रहनेछ।
शुभमुहूर्त कार्यक्रममा निर्देशक नवीन सुब्बाले ‘बुकी फूल’ गुरुङ समुदायको इतिहास र सांस्कृतिक जीवनलाई अभिलेखीकरण गर्ने महत्वपूर्ण फिल्म बन्न सक्ने बताए। नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय विषयवस्तु र प्रस्तुतिका दृष्टिले सुधार हुँदै गएको उल्लेख गर्दै उनले मौलिक कथा र प्रस्तुतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
फिल्मका परिकल्पनाकार तथा निर्माता बेदबहादुर गुरुङ ‘श्याम’ले आफ्ना बाबुबाजेबाट सुन्दै आएका कथा, भोगाइ र समुदायको इतिहासलाई फिल्ममार्फत नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले ‘बुकी फूल’ निर्माण गर्न लागिएको बताए। गुरुङ समुदायको इतिहास, संस्कृति, परम्परा, जीवनशैली र सामाजिक परिवेशलाई जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको उनको भनाइ छ।
निर्देशक ओमप्रकाश गुरुङले ऐतिहासिक परिवेशमा आधारित भएकाले फिल्मको मौलिकता र सांस्कृतिक पक्षलाई विशेष ध्यान दिइने बताए। स्थानीय परिवेश, संस्कार र जीवनशैलीलाई पर्दामा यथार्थपरक ढंगले प्रस्तुत गर्ने प्रयास हुने उनको भनाइ छ।
सुसन प्रजापतिको छायांकन रहने फिल्मको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन्। निर्माण पक्षका अनुसार फिल्मको छायांकन करिब ३५ दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
गुरुङ समुदायको मौलिक इतिहास, संस्कृति र जीवनदर्शनलाई सिनेमाको माध्यमबाट दस्तावेजीकरण गर्ने उद्देश्यले निर्माण हुन लागेको ‘बुकी फूल’मा सिक्लेसको प्राकृतिक सौन्दर्यसँगै त्यहाँको सामाजिक तथा सांस्कृतिक जीवनलाई समेत पर्दामा प्रस्तुत गरिनेछ।
News Filmy Newsportal / Nepal