पावरप्याक एक्सनले भरिएको ‘आचार्य’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता निखिल उप्रेतीको आगामी फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ। असोज ९ गते प्रदर्शनमा आउने फिल्मको साढे तीन मिनेट लामो ट्रेलर शनिबार आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

ट्रेलरमा निखिललाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक टिजरमा देखाइएको पावरप्याक एक्सन र परिष्कृत एक्सन कोरियोग्राफीलाई ट्रेलरले थप विस्तार गरेको छ। ट्रेलर हेर्दा निखिलले यसपटक एक्सनलाई केन्द्रमा राखेर फिल्म तयार गरेको देखिन्छ।

यसअघि निर्माण, निर्देशन तथा अभिनयसमेत गरेको फिल्म ‘भैरव’मार्फत एक्सनबाट चर्चा बटुलेका निखिलले ‘आचार्य’मा त्यसलाई अझ फराकिलो बनाएको ट्रेलरले संकेत गर्छ।

फिल्मले पछिल्लो समय नेपाली फिल्ममा कम हुँदै गएको ‘मास इन्टरटेनर’ शैलीलाई पुनः मूलधारमा ल्याउने अपेक्षा गरिएको छ।

‘आचार्य’मा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय छ। पूर्णिका सिजापतीले यही फिल्ममार्फत नव–नायिकाका रूपमा डेब्यु गर्दैछिन्।

फिल्ममा बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीसँगै ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका वास्तोलालगायत कलाकारको अभिनय रहेको छ।

सौरभ लामा, मनु विक र नवराज थापाले छायांकन गरेको फिल्मको एक्सन निर्देशन शुक्रराज शाहले गरेका छन्। बन्दे प्रसादको सम्पादन रहेको फिल्मको टिजर तथा ट्रेलर सन्देश शाहले तयार पारेका हुन्।

Leave a Reply