‘झिंगे दाउ २’को गीतमा लाग्यो दशैं, ‘ए माया नजिकै सर’ सार्वजनिक

 काठमाडौं । आगामी  असोज २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘झिंगे दाउ २’को नयाँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा दशैंको झल्को देखाइएको छ।

यसअघि फिल्मको ‘जेठानी–देउरानी’ बोलको तीज गीतले चर्चा पाइरहेका बेला निर्माण टिमले नयाँ गीत सार्वजनिक गरेको हो। ‘ए माया नजिकै सर’को भिडियोमा मुख्य कलाकारहरू रातो टीका र जमरा लगाएर प्रस्तुत भएका छन्। रोटे पिङमा रमाइरहेका कोरस तथा चाडपर्वको माहोलले गीतमा दशैंको आभास दिलाउँछ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा रामचन्द्र काफ्ले र शान्तिश्री परियारले स्वर दिएका छन्। गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ। भिडियोमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल बिष्टको नृत्य देख्न सकिन्छ। केकी र आँचलबीचको झगडालाई समेत भिडियोमा समेटिएको छ।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको फिल्ममा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता छन्।

विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ। फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।

Leave a Reply