काठमाडौं । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक गरिएको छ।
सार्वजनिक ट्रेलरमा दाजुभाइ तथा देउरानी–जेठानीबीचको झगडा, आमाको ममता, सन्तानको प्रेम र आमाको खोजीलाई प्रस्तुत गरिएको छ । पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई समेटिएको ट्रेलरले दर्शकमा फिल्मप्रति उत्सुकता जगाउने अपेक्षा गरिएको छ ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको फिल्ममा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता छन् ।
विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन् ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायतका कलाकारको अभिनय छ ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ ।
यसअघि सार्वजनिक फिल्मको टिजरले दर्शकको ध्यान खिचिसकेको छ । फिल्ममा समावेश ‘जेठानी भर्सेस देउरानी’ बोलको तीज ब्याटल गीत युट्युब र टिकटकमा चर्चित बनेको छ । निर्माण पक्षका अनुसार उक्त गीतले छोटो समयमै ३७ लाखभन्दा बढी भ्युज पाइसकेको छ ।
यसैगरी, ‘झिंगे दाउ’को पहिलो भागले युट्युबमा ८० लाखभन्दा बढी भ्युज पाइसकेको छ । पहिलो भागको लोकप्रियताका कारण ‘झिंगे दाउ २’प्रति दर्शकको चासो बढेको निर्माण पक्षको अपेक्षा छ ।
News Filmy Newsportal / Nepal