काठमाडौँ। अभिनेत्री तथा निर्देशक नीता ढुङ्गानाले प्राकृतिक विपद्का कारण प्रभावित बनेका नागरिकहरूको उद्धार र राहतका लागि नगद रु. १ लाख सहयोग गर्ने घोषणा गरेकी छन्। उनले बुधबार सरकारको राहत कोषमा उक्त रकम जम्मा गरेकी हुन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि आएको विनाशकारी बाढीले रसुवागढी भन्सार क्षेत्र (टिमुरे) मा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। साथै सयौँ मानिसहरू बेपत्ता भइरहेका छन्। सरकारले उद्धार तथा खोजी कार्यलाई तीव्र पारिरहेका बेला कलाकारहरूले राहत कोषमा सहयोग रकम जम्मा गर्न थालेसँगै अभिनेत्री ढुङ्गानाले पनि उक्त रकम हस्तान्तरण गरेकी हुन्।
बाढीपीडित तथा प्रभावित परिवारहरूलाई राहत पुर्याउने उद्देश्यले उक्त रकम सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको उनले बताएकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस दुःखद घडीमा सबैलाई ऐक्यबद्धता जनाउन र आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अपिल गरेकी छन्।
“विपद्को यस दुःखद घडीमा बाढीपीडित तथा प्रभावित परिवारहरूको सहयोगका लागि सरकारको राहत कोषमा रु. १ लाख जम्मा हुने गरी सहयोग गर्ने निर्णय गरेको छु,” उनले लेखेकी छन्, “यस कठिन समयमा सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ, मानवीयता नै सबैभन्दा ठूलो धर्म हो।”
उनको यो कदमले विपद्को समयमा सामाजिक दायित्व बहन गर्दै अन्य व्यक्ति तथा संघ-संस्थाहरूलाई पनि सहयोगका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ।
News Filmy Newsportal / Nepal