TIFF 2026 का अन्तिम ट्रिब्युट अवार्ड घोषणा, हेलेन मिरेनदेखि फ्यान बिङबिङसम्म सम्मानित हुँदै

टोरन्टो — टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल (TIFF) का प्रमुख कार्यकारी अधिकृत क्यामरन बेलीले यस वर्षको TIFF Tribute Awards का अन्तिम सम्मानित व्यक्तित्वहरूको घोषणा गरेका छन्। Rolex को साझेदारीमा आयोजना हुने यस वर्षको अवार्डमा फ्यान बिङबिङ, हेलेन मिरेन, एडम पिट्केविच, सेथ रोजेन र बासाम तारिक सम्मानित हुने भएका छन्।

अकादमी अवार्ड विजेता चर्चित अभिनेत्री हेलेन मिरेनलाई TIFF Share Her Journey Groundbreaker Award प्रदान गरिनेछ। प्रख्यात सिनेमाटोग्राफर एडम पिट्केविचले TIFF Variety Artisan Award प्राप्त गर्नेछन् भने क्यानडेली अभिनेता, लेखक, निर्देशक तथा निर्माता सेथ रोजेनलाई TIFF Norman Jewison Career Achievement Award प्रदान गरिनेछ।

त्यस्तै, चर्चित फिल्ममेकर बासाम तारिकलाई TIFF Rising Talent Award प्रदान गरिनेछ। विश्वप्रसिद्ध अभिनेत्री फ्यान बिङबिङलाई भने विशेष TIFF Special Tribute Award बाट सम्मान गरिने TIFF ले जनाएको छ।

यसअघि नै पेनेलोपे क्रुज, ली चाङ-दोङ, रोजालिन्ड एलिजार, सियान हेडर र इसाबेल हुपर्टलाई पनि यस वर्षका TIFF Tribute Awards का सम्मानित व्यक्तित्वका रूपमा घोषणा गरिसकिएको थियो।

TIFF का CEO क्यामरन बेलीले हेलेन मिरेन र फ्यान बिङबिङले यस वर्षको फेस्टिभलमा प्रभावशाली प्रस्तुति दिने बताउँदै उनीहरूको लामो समयदेखिको योगदानलाई सम्मान गर्न पाउनु महत्वपूर्ण रहेको बताएका छन्। उनले बासाम तारिकलाई उत्कृष्ट कथाकार तथा एडम पिट्केविचलाई असाधारण दृश्य सिर्जना गर्ने सिनेमाटोग्राफरका रूपमा प्रशंसा गरेका छन्। सेथ रोजेनको क्यानडेली प्रतिभालाई पनि उनले विशेष रूपमा सम्मान गरेका छन्।

यस वर्षको TIFF Tribute Awards Gala आगामी सेप्टेम्बर १३, आइतबार, टोरन्टोस्थित Fairmont Royal York Hotelमा आयोजना हुनेछ। यो TIFF को आठौँ वार्षिक अवार्ड गाला हो र फेस्टिभलको सबैभन्दा ठूलो वार्षिक फन्डरेजिङ कार्यक्रमसमेत हो। यसबाट प्राप्त रकम विश्वस्तरीय सिनेमामा पहुँच विस्तार, कलाकार विकास, उद्योग नेतृत्व, समुदायसँगको सहभागिता तथा वर्षभरिका सांस्कृतिक कार्यक्रमका लागि प्रयोग गरिनेछ।

यस वर्षका नयाँ सम्मानित व्यक्तित्व

फ्यान बिङबिङ — TIFF Special Tribute Award
चिनियाँ अभिनेत्री तथा निर्माता फ्यान बिङबिङको अभिनय यात्रा तीन दशक लामो छ। उनी My Fair Princess, Cell Phone, Lost in Beijing, Buddha Mountain, I Am Not Madame Bovary, X-Men: Days of Future Past, The 355 लगायतका फिल्मका लागि चर्चित छिन्। Buddha Mountain का लागि उनले Tokyo International Film Festival मा उत्कृष्ट अभिनेत्रीको अवार्डसमेत जितेकी थिइन्।

हेलेन मिरेन — TIFF Share Her Journey Groundbreaker Award
पाँच दशकभन्दा लामो अभिनय यात्रामा अकादमी अवार्ड, BAFTA, Emmy लगायतका प्रतिष्ठित सम्मान जितिसकेकी हेलेन मिरेन यस वर्ष Anton Corbijn निर्देशित A Talent for Murder को वर्ल्ड प्रिमियरका लागि TIFF फर्किँदैछिन्। The Queen मा गरेको अभिनयका लागि उनले Oscar जितेकी थिइन्।

एडम पिट्केविच — TIFF Variety Artisan Award
पोल्यान्डका सिनेमाटोग्राफर एडम पिट्केविचले Theja Rio निर्देशित Angh बाट TIFF डेब्यु गर्दैछन्। १६ मिलिमिटरमा खिचिएको यो फिल्म फेस्टिभलको प्रतिस्पर्धात्मक Platform कार्यक्रममा वर्ल्ड प्रिमियर हुनेछ।

सेथ रोजेन — TIFF Norman Jewison Career Achievement Award
अभिनेता, लेखक, निर्देशक तथा निर्माता सेथ रोजेन आधुनिक कमेडीका चर्चित प्रतिभा हुन्। Superbad, Knocked Up, Pineapple Express लगायतका फिल्मसँगै उनले The Studio जस्ता चर्चित प्रोजेक्टमा काम गरेका छन्। उनी Lauren Miller Rogen निर्देशित Babies को वर्ल्ड प्रिमियरका लागि TIFF फर्किँदैछन्।

बासाम तारिक — TIFF Rising Talent Award
फिल्ममेकर बासाम तारिकले आफ्नो नयाँ फिल्म Your Mother Your Mother Your Mother मार्फत TIFF डेब्यु गर्दैछन्। फिल्ममा Oscar विजेता अभिनेता महेरशला अली मुख्य भूमिकामा छन्। डॉकुमेन्ट्रीबाट फिल्म निर्देशनतर्फ आएका तारिक व्यक्तिगत, आस्था, पहिचान र मानवीय संवेदनासँग जोडिएका कथाका लागि परिचित छन्।

Leave a Reply