टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल २०२६ का अवार्ड र निर्णायक मण्डल घोषणा

टोरन्टो — टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल (टीआईएफएफ)ले २०२६ संस्करणका बाँकी अवार्ड विधा, निर्णायक मण्डल तथा पुरस्कार राशिको घोषणा गरेको छ। यस वर्ष क्यानडेली फिचर फिल्मसँगै फिप्रेस्की (FIPRESCI), नेटप्याक (NETPAC) र ‘सर्ट कट्स’ विधाका विभिन्न अवार्ड प्रदान गरिनेछ।

यससँगै दर्शकले प्रत्यक्ष मतदानमार्फत विजेता चयन गर्ने प्रतिष्ठित ‘पिपुल्स च्वाइस अवार्ड’ पनि यस वर्ष निरन्तर रहनेछ। यी सबै अवार्डको घोषणा फेस्टिभलको अन्तिम दिन अर्थात् सेप्टेम्बर २०, २०२६ मा हुने कार्यक्रममा गरिनेछ। कार्यक्रम प्रत्यक्ष आयोजना हुनुका साथै विश्वभर अनलाइन लाइभस्ट्रिम पनि गरिने टीआईएफएफले जनाएको छ।

सन् १९७८ देखि प्रदान हुँदै आएको ‘पिपुल्स च्वाइस अवार्ड’ले टीआईएफएफमा दर्शकको भूमिकालाई विशेष महत्व दिँदै आएको छ। ‘च्यारियट्स अफ फायर’, ‘द प्रिन्सेस ब्राइड’ र ‘स्लमडग मिलियनेयर’ जस्ता फिल्मले यस अवार्ड जितिसकेका छन्। हालै क्लोई झाओको ‘ह्याम्नेट’ले पनि टीआईएफएफको दर्शक समर्थन पाएको थियो, जसबाट जेसी बक्लीले सन् २०२६ को एकेडेमी अवार्डमा उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेकी थिइन्।

यस वर्ष दर्शकको मतदानबाट पिपुल्स च्वाइस अवार्ड, पिपुल्स च्वाइस डकुमेन्ट्री अवार्ड, पिपुल्स च्वाइस मिडनाइट म्याडनेस अवार्ड र इन्टरनेसनल पिपुल्स च्वाइस अवार्ड प्रदान गरिनेछ। टीआईएफएफको आधिकारिक छनोटमा परेका सबै फिचर फिल्म तथा सिरिज यी अवार्डका लागि योग्य हुनेछन्।

उत्कृष्ट क्यानडेली फिल्मलाई १० हजार क्यानेडियन डलर

‘बेस्ट क्यानडियन डिस्कभरी अवार्ड’ क्यानडेली फिल्म क्षेत्रमा नयाँ सम्भावना बोकेका निर्देशक तथा फिल्मकर्मीलाई सम्मान गर्न प्रदान गरिनेछ। टीआईएफएफको आधिकारिक छनोटमा परेका क्यानडाका पहिलो वा दोस्रो फिचर फिल्म यस अवार्डका लागि योग्य हुनेछन्। विजेताले १० हजार क्यानेडियन डलर पुरस्कार प्राप्त गर्नेछन्।

यस विधाको निर्णायक मण्डलमा लेखक तथा निर्देशक जरार खान, पुरस्कार विजेता निर्माता जस्टिन पिम्लट र क्यानडेली–हंगेरी फिल्ममेकर सोफी रोमभारी रहेका छन्।

त्यस्तै, ‘बेस्ट क्यानडियन फिचर फिल्म अवार्ड’ले क्यानडेली सिनेमाको विशिष्ट सिर्जनात्मकता र कथावाचनलाई सम्मान गर्नेछ। पहिलो वा दोस्रो फिचर फिल्म बाहेक टीआईएफएफको आधिकारिक छनोटमा परेका क्यानडेली फिचर फिल्म यस अवार्डका लागि योग्य हुनेछन्। विजेताले पनि १० हजार क्यानेडियन डलर प्राप्त गर्नेछन्।

यस अवार्डको निर्णायक मण्डलमा निर्देशक ह्युबर्ट डेभिस, ओस्कारमा मनोनित फिल्ममेकर दीपा मेहता र नेटफ्लिक्सकी ओरिजिनल फिल्म निर्देशक क्रिस्टिना रोजर्स रहेका छन्।

फिप्रेस्की र नेटप्याक अवार्ड पनि

अन्तर्राष्ट्रिय फिल्म समीक्षकहरूको संस्था फिप्रेस्कीले प्रदान गर्ने २०२६ फिप्रेस्की पुरस्कार टीआईएफएफको ‘डिस्कभरी’ विधामा वर्ल्ड प्रिमियर भएको डेब्यु फिचर फिल्ममध्ये उत्कृष्टलाई प्रदान गरिनेछ। यसको निर्णायक मण्डलमा भारतकी लेखिका तथा समीक्षक प्रज्ञा मिश्रा, रोमानियाली फिल्म समीक्षक काटालिन ओलारु, बुल्गेरियाली समीक्षक साभिना पेटकोभा, ब्राजिलकी फिल्म समीक्षक एनओए लोपेस पोन्टेस र टोरोन्टोस्थित पत्रकार तथा समीक्षक भिक्टर स्टिफ रहेका छन्।

यस्तै, एसिया–प्रशान्त क्षेत्रका फिल्मलाई केन्द्रमा राखेर प्रदान गरिने नेटप्याक अवार्ड पहिलो वा दोस्रो फिचर निर्देशन गरेका निर्देशकको उत्कृष्ट एसियाली फिल्मलाई प्रदान गरिनेछ। यसको निर्णायक मण्डलमा मारा मट्टा, रिचर्ड फङ र पानागियोटिस कोत्जाथानासिस रहेका छन्।

यसैबीच, टीआईएफएफको ‘प्लाटफर्म प्राइज’ यस वर्ष थप महत्वपूर्ण बन्ने भएको छ। १२ फिल्म सहभागी रहने यो विधाको पाँच सदस्यीय अन्तर्राष्ट्रिय निर्णायक मण्डलको अध्यक्षमा निर्देशक पाब्लो ट्रापेरो रहेका छन्। निर्णायकमा अम्मा असान्ते, सिल्भिया चाङ, लुक डेरी र अल्बर्ट ली छन्। विजेता फिल्मले २० हजार क्यानेडियन डलर प्राप्त गर्नेछ। गैर–अंग्रेजी भाषाको फिल्म भएमा यसले एकेडेमी अवार्डको उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म विधाका लागि समेत योग्यता हासिल गर्नेछ।

‘सर्ट कट्स’ विधातर्फ उत्कृष्ट एनिमेटेड सर्ट फिल्म, उत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्म र उत्कृष्ट क्यानेडियन सर्ट फिल्मको अवार्ड प्रदान गरिनेछ। यी विधाका निर्णायकमा जोकार हाना, क्रिस लाभिस र आइरिस एनजी रहेका छन्।

टीआईएफएफको ५१औँ संस्करण सेप्टेम्बर १० देखि २०, २०२६ सम्म टोरोन्टोमा आयोजना हुँदैछ।

Leave a Reply