काठमाडौं । चार दिनअघि सार्वजनिक भएको फिल्म ‘झिंगे दाउ २’को टिजर सामाजिक सञ्जालमा आक्रामक रूपमा फैलिएको छ ।
टिजरले युट्युबमा मात्र १० लाख भ्यूज पाएको छ । दर्शकको उत्साहजनक प्रतिक्रियासँगै टिजरले लोभलाग्दो भ्यूज पाएको हो ।
यता, फेसबुक र टिकटकमा मात्र टिजरलाई १ करोडभन्दा बढी पटक हेरिएको निर्माण पक्षले जनाएको छ ।
टिजरमा समावेश नायिकाद्वय केकी अधिकारी र आँचल शर्माबीचको झगडाको दृश्य ‘भुसको आगोझैँ’ सामाजिक सञ्जालमा फैलिएको छ । उक्त दृश्यले दर्शकको ध्यान खिच्नुका साथै सामाजिक सञ्जालमा समेत चर्चा पाइरहेको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्मको टिजरमा जेठानी–देउरानीको झगडा, दाजुभाइबीचको कलह र आमाको छटपटीलाई प्रस्तुत गरिएको छ । असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मले बक्स अफिसमा सुखद व्यापार गर्ने प्रक्षेपण फिल्म वृत्तमा हुन थालेको छ ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई एप्पल इन्टरटेनमेन्टले नेपालभर वितरण गर्नेछ । सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको फिल्ममा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रूपमा छन् ।
विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन छ । ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजमेन्ट रहेको फिल्ममा अर्जुन घिमिरेको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन रहेको छ । परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ ।
फिल्मले बक्स अफिसमा लोभलाग्दो कमाइ गर्ने अपेक्षा गरिएको छ । यसपटक निर्देशक देउजाले पारिवारिक कलह र आमाको महत्त्वलाई फिल्मको पर्दामा उठाएका छन् । विशेषगरी टिजरमा समावेश आँचल र केकीको रुखमा भएको झगडाको दृश्य सर्वाधिक लोकप्रिय बनेको छ ।
News Filmy Newsportal / Nepal