‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप र लिजालाई

काठमाडौं । ‘मोडल हन्ट नेपाल २०२६’को मेलतर्फको उपाधि परन्तप भण्डारी र फिमेलतर्फको उपाधि लिजा श्रेष्ठले जितेका छन् । दुवै विजेताले नगद ५ लाख रुपैयाँ बराबरको पुरस्कारसँगै आगामी डिसेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एन्ड मिस्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्।

मेलतर्फका विजेता भण्डारीले बेस्ट वाक, बेस्ट फिजिक्स र बेस्ट फिगर गरी तीन विधाको उपाधिसमेत हात पारे । यस्तै, फिमेलतर्फकी विजेता श्रेष्ठले कमर्सियल मोडलको उपाधि पनि जितिन् ।

शनिबार दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित भव्य समारोहमा मेलतर्फ अनुस्कृत न्यौपाने फर्स्ट रनरअप र सुशान्त प्रजापति सेकेन्ड रनरअप घोषित भए । फिमेलतर्फ प्रियंका ओली फर्स्ट रनरअप र खुसी बोहरा सेकेन्ड रनरअप बने ।

२६ फिमेल र १६ मेल गरी ४२ प्रतियोगी सहभागी फाइनलमा विभिन्न विधाका विजेतासमेत घोषणा गरिएको थियो । मस्ट पपुलरतर्फ मनिष ओली र काया थापा, मस्ट स्टाइलिसतर्फ सुशील थापा मगर र काया थापा, बेस्ट पर्सनालिटीमा अनुष सक्सेना र उगेश्ना तिमल्सिना विजेता बने ।

यस्तै, बेस्ट वाक अस्निका ठकुरी, पब्लिक च्वाइसमा सुशान्त प्रजापति र प्रियंका ओली, मस्ट फोटोजेनिकमा सुशान्त प्रजापति र कृशला संगत, बेस्ट फिजिक्स र बेस्ट फिगरमा सिम्रन कार्की, कमर्सियल मोडलमा अनुस्कृत न्यौपाने तथा बेस्ट कन्टेन्ट क्रिएटरमा सृष्टि न्यौपाने विजेता बने ।

नेपालकै बृहत् र स्तरीय मोडलिङ प्रतियोगितामध्ये एक मानिने ‘मोडल हन्ट नेपाल’को यो १०औँ सिजन हो । यसपटक ‘नोथिङ स्मार्ट फोन’ मुख्य प्रायोजक रहेकाले प्रतियोगिता ‘नोथिङ स्मार्ट फोन मोडल हन्ट नेपाल २०२६’ नामबाट आयोजना गरिएको थियो ।

प्रतियोगिताका निर्णायकमा माल्भिका सुब्बा, प्रशान्त ताम्राकार, राजभाई सुवाल, हिमाञ्चल राज केसी, विनय जोशी, रमिला नेम्कुल र मनिष राई रहेका थिए ।

आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेका अनुसार प्रतियोगीहरूलाई व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट र एक्सप्रेसनलगायत विषयमा ग्रुमिङ तथा प्रशिक्षण दिइएको थियो ।

मोडलिङका लागि आवश्यक अन्तर्राष्ट्रिय स्तरको ज्ञान प्रदान गर्दै देश तथा विदेशका विभिन्न प्लेटफर्ममा अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता विगत १० वर्षदेखि नियमित आयोजना हुँदै आएको छ । पछिल्लो समय प्रतियोगिताप्रति युवायुवतीको आकर्षणसमेत बढ्दो रहेको आयोजकको भनाइ छ ।

प्रतियोगिताले मोडलिङ क्षेत्रमा प्रवेश गर्न चाहनेहरूका लागि उचित अवसर र प्लेटफर्म सिर्जना गरेको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

कोरियोग्राफर सबिता कार्की र मेन्टर अजय गुरुङ रहेको प्रतियोगितामा मनिष राई, कासा, मस्र्याङ्दी, सरिता अटायर र विमिन्स प्लानेटले फेसन डिजाइनमा सहकार्य गरेका थिए । प्रतियोगिता र्‍याम्प शो तथा विभिन्न सांगीतिक प्रस्तुतिसहित आयोजना गरिएको थियो ।

Leave a Reply