काठमाडौं। ‘इन्टु मिन्टू लन्डनमा’मार्फत नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका अभिनेता धिरज मगर पहिलो फिल्मबाटै दर्शकमाझ लोकप्रिय बन्न सफल भए। आकर्षक उचाइ, कोरियन लुक्स र शालीन व्यवहारका कारण उनले छोटो समयमै ठूलो फ्यान फलोइङ बनाउन सफल भएका हुन्।
नेपाली फिल्ममा प्रवेश गर्नुअघि नै बेलायतमा रहँदा भ्लगिङमार्फत आफ्नो छुट्टै फ्यान बेस बनाइसकेका धिरजलाई डेब्यु फिल्ममै दर्शकले रुचाए। त्यसपछि लगातार फिल्ममा व्यस्त रहेका उनका ‘बाबरी’, ‘खुस्मा’, ‘मैझारो’, ‘माइतीघर’ लगायतका फिल्म प्रदर्शनमा आइसकेका छन्। उनी अभिनीत अर्को फिल्म ‘कुस्ती’ पनि प्रदर्शनको तयारीमा छ।
यसैबीच, धिरज अर्को नयाँ फिल्ममा आबद्ध भएको खबर बाहिरिएको छ। यद्यपि उनले फिल्मको नाम र अन्य विवरण भने खुलाउन चाहेनन्। उनले नयाँ फिल्मको फस्टलुक पोस्टरको सुटिङ भने भइसकेको जानकारी दिएका छन्।
धिरजले आफू नयाँ फिल्मलाई लिएर निकै उत्साहित रहेको समेत बताएका छन्। हाल स्प्राइटका ब्रान्ड एम्बेसडर रहेका धिरज ब्रान्ड प्रवर्द्धनका क्रममा वीरगञ्ज पुगेका थिए। सोही अवसरमा सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै उनले आफ्नो नयाँ फिल्मबारे जानकारी दिएका हुन्।
नयाँ फिल्ममा धिरजको भूमिका कस्तो हुनेछ भन्ने विषयमा भने दर्शकले थप समय कुर्नुपर्नेछ।
News Filmy Newsportal / Nepal