राजेश हमालदेखि सुरक्षा पन्तसम्म, यस्तो हुनेछ ‘सुपर कमेडी लिग’

काठमाडौं । नेपालको पहिलो कमेडी एक्टमा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ । ओपन डोर्स इन्टरटेन्मेन्टले निर्माण गर्ने शोको घोषणा ललितपुरको चाकुपाटस्थित इन्ट्रन्स क्याफेमा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको हो ।

हास्य–व्यङ्ग्यमा आधारित यस रियालिटी शोमा अभिनेता राजेश हमालले लिग प्रेसिडेन्टको भूमिका निर्वाह गर्नेछन् । चर्चित कलाकारहरू विल्सन विक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्त क्याप्टेन तथा मेन्टरका रूपमा रहनेछन् ।

कार्यक्रमका लागि देशका पाँच शहरमा अडिसन आयोजना गरिने भएको छ । २०८३ साउन २९ गते दमकस्थित कदम थिएटर, साउन ३१ गते नारायणगढस्थित राइनो वाटर होटल, भदौ २ गते नेपालगन्जस्थित सिद्धार्थ होटल, भदौ ४ गते पोखरास्थित पोखरा थिएटर र भदौ ६ गते काठमाडौंमा अडिसन हुनेछ ।

अडिसनबाट ३२ जना प्रतिस्पर्धी छनोट गरिनेछ । उनीहरूलाई चार समूहमा विभाजन गरिनेछ भने प्रत्येक समूहमा ८ जना प्रतिस्पर्धी रहनेछन् । चार समूहको नेतृत्व चार जना क्याप्टेनले गर्नेछन् ।

अडिसनमा सहभागी हुन नपाएका तथा नेपालबाहिर रहेका नेपाली भाषी इच्छुक प्रतिभाले पनि डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्नेछन् । त्यसका लागिआफ्नोभिडियोसामग्रीSupercomedyleague@gmail.com वा ९८०२३७२१८० मार्फत पठाउन सकिने निर्माण पक्षले जनाएको छ ।

‘सुपर कमेडी लिग’ समूहमा आधारित प्रतिस्पर्धात्मक ढाँचामा निर्माण हुनेछ । एउटा स्क्रिप्टमा कम्तीमा दुई जना तथा आवश्यकताअनुसार सोभन्दा बढी प्रतिस्पर्धीले संयुक्त रूपमा प्रस्तुति दिनेछन् । पूर्वनिर्धारित विषय तथा थिममा आधारित प्रस्तुतिहरू स्केच, स्किट तथा ड्रामेडी (ड्रामा + कमेडी) लगायतका शैलीमा तयार गरिनेछन् ।

निर्देशक एलिन श्रेष्ठका अनुसार कार्यक्रमको उद्देश्य केवल कमेडियन खोज्नु नभई कमेडी एक्टमार्फत प्रभावकारी प्रस्तुति दिन सक्ने उत्कृष्ट एक्टरको खोजी गर्नु पनि हो ।
“प्रतिभाशाली कलाकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम निर्माण गर्न लागिएको हो,” निर्देशक श्रेष्ठले भने ।

नेपाली टेलिभिजन कार्यक्रम निर्माण तथा निर्देशनमा दुई दशकभन्दा लामो अनुभव बटुलेका श्रेष्ठले नेपाल आइडल, सारेगम लिल च्याम्प्स, बुगि बुगि, मेरो भोइस युनिभर्स र मेरो डान्स युनिभर्सलगायत विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज तथा रियालिटी शोको निर्देशन गरिसकेका छन् ।

श्रेष्ठले ‘सुपर कमेडी लिग’लाई नेपाली टेलिभिजनको प्रिमियम कमेडी रियालिटी शोका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए ।

कार्यक्रमको प्रसारण नेपालको राष्ट्रिय टेलिभिजनबाट हुनेछ भने डिजिटल प्रसारण ओएसआरमार्फत गरिनेछ । यस्तै कार्यक्रमका पर्दापछाडिका सामग्रीहरू सारङ्गी मिडियामार्फत प्रसारण गरिने निर्माण पक्षले जनाएको छ ।

‘सुपर कमेडी लिग’को नियमित प्रसारण भदौको अन्तिम सातादेखि सुरु हुने बताइएको छ । विशुद्ध पारिवारिक मनोरञ्जनात्मक प्रकृतिको हुने शोमार्फत नेपाली दर्शकलाई नयाँ शैलीको हास्य मनोरञ्जन प्रदान गर्ने विश्वास निर्माण पक्षले लिएको छ ।

Leave a Reply