काठमाडौं । समिर भट्टको मुख्य भूमिका रहेको फिल्म ‘१२ गाउँ २’को डबिङ भइरहेको छ । काठमाडौंस्थित ग्लोबल रिल मोसन पिक्चर्समा आइतबार अभिनेता समिर भट्टले फिल्मको स्वराङ्कन गरेका हुन् ।
निर्देशक विराज भट्टले समिरसहित अनुपविक्रम शाही, कालु रानालगायत कलाकारको डबिङ गराइरहेका छन् ।
दशैंको अवसर पारेर फूलपातीको अघिल्लो दिन अर्थात् असोज ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘१२ गाउँ २’ सन् २०२४ को हिट फिल्म ‘१२ गाउँ’को सिक्वेल हो ।
एक्सन नायक विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ’बाट नेपाली फिल्म क्षेत्रमा समिर भट्ट उदाउँदो स्टारका रूपमा स्थापित भएका थिए । पहिलो श्रृंखलाको जबरजस्त सफलता र समिरको बढ्दो क्रेजका कारण ‘१२ गाउँ २’लाई प्रतीक्षित फिल्मका रूपमा हेरिएको छ ।
निर्माण पक्षका अनुसार ‘१२ गाउँ २’लाई अझ ठूलो क्यानभास, नवीन कथा, सशक्त प्रस्तुति र उच्च प्राविधिक गुणस्तरसहित दर्शकमाझ ल्याउने तयारी गरिएको छ । फिल्ममा एक्सनसँगै मनोरञ्जन, भावना र पारिवारिक कथालाई पनि विशेष प्राथमिकता दिइएको बताइएको छ ।
डबिङसँगै पोस्ट प्रोडक्सनका अन्य प्राविधिक काम पनि निर्धारित तालिकाअनुसार तीव्र गतिमा अघि बढिरहेको निर्माण पक्षले जनाएको छ । डबिङ सम्पन्न भएपछि फिल्मका गीत, ट्रेलर तथा प्रचार–प्रसारका सामग्री क्रमशः सार्वजनिक गर्ने तयारी गरिएको छ ।
फिल्ममा विराज भट्ट, समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटनी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी, पूर्णबहादुर गन्धर्वलगायत कलाकारको अभिनय छ ।
सन्तोष सरकारको कथा तथा पटकथा रहेको फिल्ममा महेश पौडेलको छायांकन, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, कालाचरण र गीता गुरप्पाको ब्याकग्राउन्ड म्युजिक तथा सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको छ ।
News Filmy Newsportal / Nepal