काठमाडौं । नेपाली फिल्म ‘मालती मंगले’ को रेड कार्पेट प्रिमियर अस्ट्रेलियाको सिड्नीस्थित ग्रान्ड प्यालेसमा सम्पन्न भएको छ। निर्माता तथा गायक रामकृष्ण ढकालको उपस्थितिमा आयोजित कार्यक्रममा दर्शकको उल्लेखनीय सहभागिता रहेको निर्माण पक्षले जनाएको छ।
निर्माण टिमका अनुसार करिब २०० सिट क्षमताको हलमा ३०० भन्दा बढी दर्शक उपस्थित भएपछि प्रिमियर ‘हाउसफुल’ भएको थियो।
प्रिमियरमा सहभागी दर्शकले फिल्मको कथा र कलाकारहरूको अभिनयप्रति सकारात्मक प्रतिक्रिया दिएको निर्माण पक्षको दाबी छ। फिल्ममा वर्षा राउत, विजय बराल, मेक्सम गौडेल, शकु शाह, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको अभिनय रहेको छ।
कार्यक्रमपछि आयोजित सांगीतिक प्रस्तुतिमा गायक रामकृष्ण ढकालले आफ्ना आठ वटा गीत प्रस्तुत गरेका थिए। उनलाई ‘भ्वाइस अफ नेपाल’बाट परिचित गायिका अञ्जली हमालले चार वटा युगल गीतमा साथ दिएकी थिइन्।
निर्माण पक्षका अनुसार सिड्नी प्रिमियर फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अभियानअन्तर्गत आयोजना गरिएको हो। यसअघि अमेरिका र क्यानडाका विभिन्न सहरमा पनि फिल्म प्रदर्शन तथा सांगीतिक कार्यक्रम सम्पन्न भइसकेका छन् भने आगामी दिनमा युरोपलगायत अन्य देशमा पनि प्रदर्शन गर्ने तयारी रहेको जनाइएको छ।
रानी फिल्म्स र युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। फिल्मको कथा निर्देशक पाण्डेयकै हो भने पटकथा तथा संवाद संयोग गुरागाईँसँगको सहकार्यमा तयार गरिएको हो।
सागर ज्ञवाली कार्यकारी निर्माता रहेको फिल्ममा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन्। फिल्मको छायांकन महेश पौडेल, सम्पादन रोमी मोजेज, कलर कृष्ण भण्डारी, ब्याकग्राउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ डिकेश खड्गीले गरेका छन्।
News Filmy Newsportal / Nepal