‘पञ्चमी’को औपचारिक घोषणा, सौगात बस्नेतले निर्देशनमा डेब्यु गर्ने

काठमाडौं । नेपाली फिल्म ‘पञ्चमी’ को औपचारिक घोषणा गरिएको छ। लामो समयदेखि पर्दापछाडि रहेर नेपाली फिल्म उद्योगमा काम गर्दै आएका सौगात बस्नेतले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन्।

फिल्मको घोषणा गर्दै निर्माण टिमले यसको थिम पोस्टर सार्वजनिक गरेको छ। निर्माण पक्षका अनुसार ‘पञ्चमी’ साइकोलोजिकल मिस्ट्री थ्रिलर विधामा निर्माण हुनेछ।

सौगात बस्नेतले यसअघि निर्देशक दीपेन्द्र के. खनालसँग चिफ एडी (सहायक निर्देशक) तथा कार्यकारी निर्माताका रूपमा काम गरिसकेका छन्। ‘पञ्चमी’ उनको पहिलो निर्देशकीय फिल्म हुनेछ।

सार्वजनिक गरिएको थिम पोस्टरमा पुरानो टाइपराइटरमा ‘पञ्चमी’ लेखिएको देखिन्छ। पोस्टरमा त्रिशूल, दुई नाग, शीर्षकलाई घेरेका पाँच घेरा, नाग अंकित लकेट र शुक्ल पक्षको अर्धचन्द्रजस्ता प्रतीकात्मक तत्व समावेश गरिएको छ। निर्देशक बस्नेतका अनुसार यी सबै तत्व फिल्मका पात्र र कथासँग सम्बन्धित छन्, जसको अर्थ फिल्म हेरेपछि मात्रै खुल्नेछ।

पोस्टरमा समावेश गरिएको ‘I Hate Whoever Comes Late’ भन्ने वाक्यांशको अर्थ र सन्दर्भ पनि निर्माण टिमले खुलाएको छैन।

निर्देशक बस्नेतले फिल्मको थिमबारे भने, “टाइटलमा हामीले प्रयोग गरेका सबै डिजाइन अहिले हेर्दा केही जटिल लाग्न सक्छन्। तर फिल्म हेरेपछि ती सबै सहज रूपमा बुझिनेछन्। यी सबै तत्व कथासँग प्रत्यक्ष रूपमा जोडिएका छन्।”

उनका अनुसार ‘पञ्चमी’ मौलिक कथा नभई एउटा उपन्यासमा आधारित फिल्म हो। यद्यपि, कुन उपन्यास र कुन लेखकको कृतिमाथि फिल्म निर्माण भइरहेको हो भन्ने विषयमा निर्माण पक्षले हालसम्म खुलाएको छैन।

फिल्मका कलाकार, पटकथा लेखक तथा अन्य प्राविधिक टिमबारे पनि अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन। निर्माण टिमले आगामी दिनमा क्रमशः थप विवरण सार्वजनिक गर्ने जनाएको छ।

Leave a Reply