‘अक्षरा’को तीज गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलन तथा फिल्मकर्मीहरूको उपस्थितिमा गीतको भिडियो सार्वजनिक गरिएको हो। उक्त गीत मुभिज डिजिटेनमेन्टको युट्युब च्यानलमार्फत हेर्न सकिने निर्माण पक्षले जनाएको छ।

समिक्षा अधिकारीको स्वर रहेको गीतमा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत रहेको छ। लोकलयमा आधारित यस गीतको भिडियोमा फिल्मका मुख्य अभिनेत्री न्यान्सी खड्का र रिस्ता अधिकारी आकर्षक रूपमा प्रस्तुत भएका छन्। उनीहरूको नृत्यलाई कार्यक्रममा उपस्थित पत्रकार तथा फिल्मकर्मीहरूले रुचाएका थिए।

रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मलाई विनयराज पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय रहेको छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना देखिएका छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बनेको फिल्मका प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना रहेका छन् भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन्।

फिल्मको मूल कथा निर्माता उग्रसेन ढुङ्गानाकै हो। पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनयराज पौडेलले तयार पारेका हुन्।

फिल्मका गीतहरूमा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत रहेको छ। गायनमा अञ्जु पन्त, समिक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर सुन्न सकिनेछ। दिपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन्।

निर्माण पक्षका अनुसार फिल्मका सम्पूर्ण डिजिटल सामग्री मुभिज डिजिटेनमेन्टमार्फत सार्वजनिक गरिनेछ। केही दिनअघि निर्माण पक्ष र डिजिटल कम्पनीका प्रतिनिधि प्रदीप धामी, पुष्कर शर्मा घिमिरे तथा आशिष तामाङबीच औपचारिक सम्झौता भएको थियो।

फिल्म ‘अक्षरा’ आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

Leave a Reply