‘बेहुली’को ‘दिलमा ठाउँ छ’ गीत चार दिनमै १३ लाख भ्युज नाघ्यो

फिल्मी फण्डा। आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘बेहुली’ को गीत ‘दिलमा ठाउँ छ’ ले डिजिटल प्लेटफर्ममा राम्रो प्रतिक्रिया पाएको छ। सार्वजनिक भएको चार दिनमै गीतले युट्युबमा १३ लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ भने टिकटकमा गीत प्रयोग गरेर २ लाख ५० हजारभन्दा बढी भिडियो बनाइएको छ। फेसबुक र इन्स्टाग्रामका रिल्समा पनि गीत व्यापक रूपमा प्रयोग भइरहेको छ।

गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर सुन्न सकिन्छ। गीतका शब्द र संगीतले छोटो समयमै दर्शकमाझ चर्चा बटुलेको छ।

गीतको भिडियोमा पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ फिचर्ड छन्। भिडियोको नृत्य निर्देशन सियोन श्रेष्ठले गरेका हुन्। भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको ‘हुक स्टेप’ प्रयोग गरेर विभिन्न भिडियो बनाइएका छन्।

यसअघि सार्वजनिक गरिएको फिल्मको फस्ट लुक पोस्टरले पनि दर्शकमाझ चासो सिर्जना गरेको थियो। गीत सार्वजनिक भएसँगै निर्माण टिमले प्रचार अभियानलाई थप अघि बढाएको छ।

सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको फिल्ममा भिडियोमा देखिएका कलाकारका साथै सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरको अभिनय रहेको छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता रहेको फिल्ममा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर रहेका छन्।

फिल्म ‘बेहुली’ आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

Leave a Reply