‘ककाकिकी’को लिरिकल थेम गीत सार्वजनिक, भदौ १९ देखि प्रदर्शनमा

काठमाडौं । आगामी भदौ १९ गते (४ सेप्टेम्बर)बाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘ककाकिकी’ को लिरिकल थेम गीत सार्वजनिक गरिएको छ। गीत बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा आदित्य प्रधानको स्वर, शिशिर थतालको शब्द तथा संगीत रहेको छ। यसअघि सार्वजनिक गरिएको फस्ट लुक भिडियोमा गीतको हुकलाइन समावेश गरिएको थियो, जसले दर्शकमाझ चर्चा बटुलेको थियो।

फिल्मको फस्ट लुक भिडियो सार्वजनिक भएपछि अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठीको क्यारेक्टर लुकले विशेष ध्यान आकर्षित गरेको थियो। सामाजिक सञ्जालमा फिल्मको फरक प्रस्तुति र कथावस्तुबारे विभिन्न प्रतिक्रिया पनि आएका थिए।

निर्माण टिमले यसअघि पोस्टर सार्वजनिक गरिसकेको छ भने अब ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको जनाएको छ। लिरिकल थेम गीत सार्वजनिक भएसँगै फिल्मको प्रचार अभियानलाई थप अघि बढाइएको छ।

बिक्की अगरवाल र श्रद्धा प्रसाईँको संयुक्त निर्देशन रहेको फिल्ममा अनीश बुढाथोकी सहायक निर्देशकका रूपमा रहेका छन्। फिल्ममा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल र एलिसा भोगलगायत कलाकारको अभिनय रहेको छ।

सुमन अगरवालको कन्सेप्टमा निर्माण भएको फिल्मको कथा तथा पटकथा बिक्की अगरवाल, विकास अर्याल, सरोज भण्डारी र विश्वास तिमल्सिनाले लेखेका हुन्। फिल्मको छायांकन सुदीप बरालको टोलीले गरेको हो। टाइटल आर्ट ट्राइडेन्ट कन्सेप्टले तयार पारेको हो भने पोस्टर डिजाइन कार्यालयले गरेको छ।

Leave a Reply