‘मास्टर्नी’को टिजर सार्वजनिक, आमा–छोरीको सम्बन्धमा क्राइम थ्रिलरको कथा

काठमाडौं । आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक गरिएको छ।

यसअघि सार्वजनिक पोस्टरमार्फत कथावस्तुबारे उत्सुकता जगाएको चलचित्रले टिजरमार्फत आमा–छोरीबीचको भावनात्मक सम्बन्ध र त्यससँग जोडिएको क्राइम थ्रिलरको कथालाई संकेत गरेको छ।

एक लासबाट सुरु हुने टिजरमा ‘छोरीको सुरक्षाभन्दा ठूलो अरू केही छैन’ भन्ने संवादले आफ्नी छोरीको रक्षाका लागि एक आमाले कस्तो संघर्ष गर्न सक्छिन् भन्ने विषयलाई केन्द्रमा राखिएको देखिन्छ।

क्राइम थ्रिलर र पारिवारिक ड्रामामा आधारित चलचित्रमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापाको अभिनय रहेको छ।

सुवेन्दु घोष निर्देशित चलचित्रका निर्माता प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की हुन्। सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता रहेका छन्।

चलचित्रको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य रहेको छ।

युवराज इन्दोरियाको छायांकन, राजा सिंह सिद्धुको सम्पादन, रोहित शाक्यको संगीत र त्रिशाला गुरुङको स्वर रहेको चलचित्रको पोस्ट–प्रोडक्सन नेपाल र भारतमा भइरहेको निर्माण टिमले जनाएको छ।

नेपालमा आरआर फिल्म्सले वितरण गर्ने ‘मास्टर्नी’ आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

Leave a Reply