काठमाडौं। नेपालको डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ आयोजना हुने भएको छ।
नेपालमै पहिलोपटक कन्टेन्ट क्रिएटरहरूलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यो अवार्ड कार्यक्रम आईएमई रेमिट्यान्स एन्ड पेमेन्ट्स ले आयोजना गर्न लागेको हो।
आयोजकका अनुसार प्रतियोगिताको ग्रान्ड फिनाले आगामी भदौको अन्तिम साता काठमाडौंमा आयोजना हुनेछ। गत जेठमा आवेदन आह्वान गरिएअनुसार देशभरबाट ५०० भन्दा बढी कन्टेन्ट क्रिएटरहरूले प्रतियोगितामा सहभागिता जनाउँदै आफ्ना कन्टेन्टहरू बुझाइसकेका छन्।
निर्णायक समूहले प्राप्त कन्टेन्टहरूको मूल्याङ्कनका आधारमा उत्कृष्ट १०० जना प्रतिस्पर्धीलाई फाइनल चरणमा प्रवेश गराउनेछन्।आयोजक संस्थाले निर्णायकहरूको मूल्याङ्कनका आधारमा आगामी साता मनोनयन सूची सार्वजनिक गर्नेछ। ग्रान्ड फिनालेमा विभिन्न १० विधामा अवार्ड वितरण गरिनेछ, जसका लागि प्रत्येक विधामा १०–१० जना क्रिएटर मनोनयनमा समावेश गरिनेछन्।
प्रतियोगिताको मूल्याङ्कनका लागि विभिन्न क्षेत्रका अनुभवी चार जना निर्णायक रहनेछन्। निर्णायकहरूमा कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार, आईएमई ग्रुपका बद्री कटवाल, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल तथा पत्रकार टेक नारायण भट्टराई रहेका छन्।
कार्यक्रमको ग्रान्ड फिनाले हुने स्थान भने पछि घोषणा गरिनेछ। प्रतियोगिताको सम्पूर्ण समन्वय तथा व्यवस्थापन स्पर्श मिडिया इन्टरटेनमेन्ट ले गरिरहेको छ।
आयोजकका अनुसार यस कार्यक्रमले नेपालका डिजिटल कन्टेन्ट क्रिएटरहरूको सिर्जनात्मक क्षमता, प्रभाव र योगदानलाई राष्ट्रिय स्तरमा सम्मान गर्दै नयाँ प्रतिभाहरूलाई अघि बढ्ने अवसर प्रदान गर्ने विश्वास लिएको छ।
सामाजिक सञ्जालको प्रभाव तीव्र रूपमा बढिरहेका बेला कन्टेन्ट क्रिएटरहरूको मेहनतलाई औपचारिक रूपमा सम्मान गर्ने उद्देश्यले ल्याइएको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ नेपालकै पहिलो प्रकारको अवार्ड कार्यक्रम रहेको आयोजकको दाबी छ।
कार्यक्रमबारे विस्तृत जानकारी, निर्णायकहरूको परिचय, विभिन्न विधा तथा आवेदन प्रक्रियासम्बन्धी विवरण आगामी दिनमा सार्वजनिक गरिने जनाइएको छ।
News Filmy Newsportal / Nepal