‘हली’को ट्रेलर सार्वजनिक, छाउपडी र सामाजिक विभेदको कथा

काठमाडौं । आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’ को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले छाउपडी प्रथा, महिनावारीसँग जोडिएका अन्धविश्वास र सामाजिक विभेदलाई केन्द्रमा राखिएको कथावस्तुको झलक दिएको छ।

ट्रेलरमा महिनावारी भएका किशोरीलाई विद्यालय जान नदिने र छाउपडीका नाममा परिवारबाट अलग राख्ने कुसंस्कारलाई प्रस्तुत गरिएको छ। फिल्म वास्तविक घटनाबाट प्रेरित रहेको निर्माता पूजा गुरुङले बताइन्। उनका अनुसार ‘हली’ले सामाजिक चेतनाको माध्यमबाट परिवर्तन सम्भव हुने सन्देश दिन खोजेको छ।

निर्देशक ओम प्रतिकले पश्चिम नेपालमा प्रचलित छाउपडी प्रथाको यथार्थलाई आधार बनाएर फिल्म निर्माण गरिएको बताए। चेतनाको विकास नै समाज रूपान्तरणको आधार हुने उनको भनाइ छ।

पूजा गुरुङ र जस्मिन श्रेष्ठको निर्माण रहेको फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय छ। फिल्म साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

Leave a Reply