‘गौंथली’ शुक्रबारदेखि अमेरिकाभर प्रदर्शनमा, पहिलो सातामै १ हजारभन्दा बढी शो

काठमाडौं। नेपालमा प्रदर्शनरत नेपाली चलचित्र ‘गौंथली’ शुक्रबार (२४ जुलाई)देखि अमेरिकाभर प्रदर्शनमा आउने भएको छ। वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलले विज्ञप्ति जारी गर्दै फिल्म अमेरिकाका २६ राज्यका ५६ सहरमा पहिलो सातामै १ हजारभन्दा बढी शोसहित प्रदर्शन हुने जनाएको छ।

प्रदर्शनअघि बिहीबार अमेरिकाका तीन सहरमा विशेष प्रिमियर शो आयोजना गरिनेछ। डलासको फोर्ट वर्थस्थित सिनेपोलिस लक्जरी सिनेमाज, पेन्सिलभेनियाको ह्यारिसबर्गस्थित रिगल थिएटर र ओहायोको कोलम्बसस्थित मार्कस थिएटरमा दर्शकले फिल्म हेर्न पाउनेछन्।

शुक्रबारदेखि टेक्सासका ९, ओहायोका ७, क्यालिफोर्नियाका ४, न्युयोर्कका ४, आयोवाका ३ तथा पेन्सिलभेनियाका ३ हलमा फिल्म प्रदर्शन हुनेछ। साथै एरिजोना, कोलोराडो, केन्टकी, मिजौरी, भर्जिनिया र वासिङ्टन डीसीका २/२ हल तथा अलास्का, जर्जिया, इलिनोइस, मेरिल्यान्ड, नेब्रास्का, नेभाडा, नर्थ क्यारोलाइना, नर्थ डकोटा, ओक्लाहोमा, ओरेगन, साउथ डकोटा, टेनेसी, युटाह र विस्कन्सिनका एक–एक हलमा नियमित प्रदर्शन हुने जनाइएको छ।

कपिल रिजाल निर्देशित फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्काको मुख्य भूमिका रहेको छ। साथै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संजोग रसाइली, सीतादेवी तिमल्सिना, लक्ष्मीनाथ तिमल्सिना, राजेन्द्र नेपाली, अंशु ओली र प्रिन्स नेपालीको पनि अभिनय रहेको छ।

शिक्षा, महिला सशक्तीकरण र संवेदनशील प्रेमकथामा आधारित फिल्म वरिष्ठ चिकित्सक भोला रिजालको कथा तथा उनकी पत्नी सरला रिजालको वास्तविक जीवन संघर्षबाट प्रेरित छ। चलचित्रमा सानै उमेरमा विवाह भए पनि शिक्षाप्रतिको दृढ संकल्प नछाड्ने ग्रामीण युवती र अटिजम स्पेक्ट्रममा रहेका एक युवकबीचको भावनात्मक सम्बन्ध तथा वैवाहिक यात्रालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

वितरण कम्पनीका अनुसार फिल्मको टिकट कम्पनीको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत पनि खरिद गर्न सकिनेछ।

Leave a Reply