काठमाडौं । अभिनेत्री मौसमी मल्ल लामो समयपछि ‘म हुँ सृष्टिको फक्ताङलुङ’ गीतको भिडियोमार्फत दर्शकमाझ फर्किएकी छन्। गायिका नीता आचार्य को स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
गोविन्द राईको निर्देशनमा तयार भएको भिडियोमा मौसमी मल्ल नेपाली मौलिक भेषभूषामा विभिन्न ऐतिहासिक तथा सांस्कृतिक पात्रको रूपमा प्रस्तुत भएकी छन्। नेपालको इतिहास, संस्कृति र पहिचानलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोमा रमणीय स्थानका दृश्य पनि समेटिएका छन्।
गीतको भिडियो सार्वजनिक भएपछि मौसमी मल्लले सामाजिक सञ्जालमार्फत दर्शकलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छन्। उनले आफू नेपालमै रहेको जानकारी पनि फेसबुकमार्फत साझा गरेकी छन्।
गीतमा मनु लोहोरुङ राईको शब्द, साज सिंहको संगीत तथा एरेन्ज रहेको छ। सुरज प्रधानले रेकर्डिङ गरेको गीतको भिडियोमा हिमाल श्रेष्ठ सिनेमाटोग्राफर छन्।
भिडियोको सम्पादन सन्देश शाहले गरेका छन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन्। भिडियोमा सत्यम रानाको भिएफएक्स, सौरभ लामाको डीओपी तथा विशालको ड्रोन छायांकन रहेको छ।
‘म हुँ सृष्टिको फक्ताङलुङ’ गीतको भिडियो गायिका नीता आचार्यको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
News Filmy Newsportal / Nepal