काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह निर्देशित आगामी नेपाली फिल्म ‘प्रिन्स’ को संगीत निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। निर्माण टिमका अनुसार फिल्मको दोस्रो गीतको रेकर्डिङ सम्पन्न भएको छ।
रेकर्ड गरिएको गीतमा नीर शाहको शब्द, शम्भुजीत बास्कोटाको संगीत तथा शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको छ। यसअघि फिल्मको पहिलो गीत शिव परियारको स्वरमा रेकर्ड भइसकेको निर्माण पक्षले जनाएको छ।
रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा नीर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार गरेका हुन्। फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन्।
फिल्मको छायांकन सौरभ लामाले गर्नेछन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्।
निर्माण पक्षका अनुसार गीत रेकर्डिङसँगै कलाकार तथा अन्य प्राविधिक टोली छनोटको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। कलाकार र प्राविधिक टोलीबारे औपचारिक घोषणा छिट्टै गरिने जनाइएको छ।
News Filmy Newsportal / Nepal