काठमाडौं । आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘हली’ को साइप्रस प्रदर्शन अधिकार नेपालमा प्रदर्शन हुनुअघि नै बिक्री भएको छ।
निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठका अनुसार साइप्रसमा फिल्म प्रदर्शनका लागि सम्झौता भइसकेको छ। अन्य देशमा पनि प्रदर्शन अधिकार बिक्रीका लागि वितरकसँग छलफल भइरहेको र सम्झौता टुंगिएपछि जानकारी गराइने उनीहरूले बताएका छन्।
शुभ चिरायू फिल्म्स र जापुरा फिल्म्स प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको निर्देशन ओम प्रतीकले गरेका हुन्। वास्तविक घटनाबाट प्रेरित रहेको दाबी गरिएको फिल्मले सामाजिक परिवर्तनको विषय उठाएको निर्माण पक्षको भनाइ छ।
फिल्ममा प्रमोद दीप, सुजाता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय छ। निर्देशक ओम प्रतीक पनि विशेष भूमिकामा देखिएका छन्।
फिल्ममा समावेश गरिएको एक प्रमोसनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले नृत्य गरेका छन्। उक्त गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्।
शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको फिल्ममा जश्मिन श्रेष्ठको शब्द समावेश छ। राहुल राई छायांकार रहेको फिल्मलाई रामप्रसाद चौधरी र विपिन मल्लले सम्पादन गरेका हुन् भने द्वन्द्व निर्देशन कुमार महर्जनले गरेका छन्।
फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सहनिर्माता नम्रता भण्डारी र लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य हुन्। नेसनल सिने ग्रुप प्रालिले वितरण गर्ने फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।
News Filmy Newsportal / Nepal