‘पार्वती’को ‘नौतुना रेलैमा’ टिकटकमा भाइरल, ३० हजारभन्दा बढी भिडियो

काठमाडौं । आगामी भदौ १२ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘पार्वती’ को गीत ‘नौतुना रेलैमा’ टिकटकमा भाइरल बनेको छ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा हालसम्म ३० हजार २०० भन्दा बढी टिकटक भिडियो बनिसकेका छन्। गीत टिकटकसँगै फेसबुक र युट्युबलगायत सामाजिक सञ्जालमा पनि व्यापक रूपमा प्रयोग भइरहेको निर्माण पक्षले जनाएको छ।

गीत सार्वजनिक भएपछि निर्माण टिमले ‘नौतुना रेलैमा टिकटक प्रतियोगिता’ घोषणा गरेको थियो। प्रतियोगितामा सहभागीले गीतमा भिडियो बनाएर #पार्वती, #भाद्र१२ र #नौतुनारेलैमा ह्यासट्यागसहित टिकटकमा पोस्ट गर्नुपर्ने व्यवस्था गरिएको छ। उत्कृष्ट तीन सहभागीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार तथा पाँच जनालाई चलचित्रको निःशुल्क टिकट प्रदान गरिने जनाइएको छ।

गीतको भिडियोमा नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठको नृत्य रहेको छ। विवाहका अवसरमा खेलिने रत्यौली संस्कृतिलाई गीतमा प्रस्तुत गरिएको छ। भिडियोमा दीपाश्री निरौला पुरुषको भेषमा देखिएकी छन्।

नीता ढुङ्गानाको कथा तथा निर्देशनमा बनेको ‘पार्वती’ मा उनीसँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय छ।

शिवम् अधिकारीको स्क्रिप्ट रहेको फिल्ममा सुदीप बरालको छायांकन र रामजी लामिछानेको नृत्य निर्देशन छ। हरिहर अधिकारी निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेको फिल्म नीता फिल्म्सको ब्यानरमा निर्माण भएको हो।

Leave a Reply