साउनमा चार फिल्म, बक्सअफिसमा कसको बाजी?

काठमाडौं । त्यसो त वर्षायाम र खेतीपातीको चटारोसँगै नेपाली फिल्म उद्योगमा असार र साउनलाई प्रायः ‘अफ–सिजन’ को  महिना मानिन्छ। यसको प्रभाव पछिल्ला नेपाली फिल्मको व्यापारमा पनि देखिएको छ। असारमा प्रदर्शनमा आएका ‘आई एम जितबहादुर’ र ‘जाँड’ ले अपेक्षाअनुसारको व्यापार गर्न सकेनन् भने हाल प्रदर्शनरत ‘भागदौड’ को व्यापार पनि उत्साहजनक देखिएको छैन भन्दा फरक नपर्ला ।

यही सुस्त बजारलाई चलायमान बनाउने अपेक्षासहित साउनमा चार नेपाली फिल्म प्रदर्शनमा आउँदै छन्। ‘गौँथली’, ‘कमला मिस’, ‘हली’ र ‘लज्जावती’ ले फरक–फरक विषयवस्तुका साथ दर्शकलाई हलसम्म तान्ने प्रयास गरेका छन् ।

प्रदर्शन तालिकाअनुसार ‘गौँथली’ साउन १ गते, ‘कमला मिस’ र ‘हली’ साउन २२ गते एकै दिन तथा ‘लज्जावती’ साउन २९ गते प्रदर्शनमा आउने तयारीमा रहेका छन् ।

जे होस साउन १ गते प्रदर्शनमा आउने डा. कपिल रिजाल निर्देशित ‘गौँथली’ ले शिक्षाका लागि संघर्षरत एक युवतीको भावनात्मक कथा प्रस्तुत गर्छ। दुई दशकअघि निर्माण भएको चर्चित फिल्म ‘गौँथली’ बाट नाम प्रेरित भए पनि यसले समकालीन कथा उठाएको छ। फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, अरुण क्षेत्री, सिम्रन खड्का, लुनिभा तुलाधर र रवीन्द्र झालगायत कलाकारको अभिनय रहेको छ।

साउन २२ गते प्रदर्शनमा आउने ‘कमला मिस’ र ‘हली’ ले फरक स्वादका कथा प्रस्तुत गरेका छन्। विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित ‘कमला मिस’ मार्फत निर्देशक नीर शाह करिब एक दशकपछि निर्देशनमा फर्किएका हुन्। मनोवैज्ञानिक द्वन्द्व र रहस्यलाई केन्द्रमा राखिएको यस फिल्ममा नीर शाह, रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री र आरभ दाहाललगायत कलाकारको अभिनय रहेको छ।

वास्तविक घटनाबाट प्रेरित ‘हली’ ले सामाजिक रूपान्तरणको सन्देश बोकेको छ। ओम प्रतीक निर्देशित यस फिल्मले एउटा साधारण हलीको साहस, इमानदारी र संघर्षको कथा प्रस्तुत गर्छ। फिल्ममा सरोज खनाल, अरुणा कार्कीलगायत मुख्य भूमिकामा छन् भने दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मा विशेष भूमिकामा देखिनेछन्।

साउन २९ गते प्रदर्शनमा आउने ‘लज्जावती’ का लेखक तथा निर्देशक राजबहादुर साने हुन्। आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको यस फिल्मले जातीय विभेद र सामाजिक असमानताको विषय उठाएको छ। फिल्ममा मुकुन भुसाल, जानुका विश्वकर्मा, धिरेन शाक्य, श्रीकृष्ण निरौला, मेनुका माझीलगायत कलाकारको अभिनय रहेको छ।

शिक्षा, सामाजिक न्याय, मनोवैज्ञानिक द्वन्द्व र सामाजिक रूपान्तरणजस्ता विविध विषयवस्तु बोकेका यी चार नेपाली फिल्मले वर्षायाममा सुस्ताएको घरेलु फिल्म बजारमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। अब यी फिल्मले बक्सअफिसमा कस्तो नतिजा निकाल्छन् भन्नेमा फिल्म वृत्तिको चासो केन्द्रित छ।

Leave a Reply