काठमाडौँ। साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गौँथली’को प्रिमियर सोमबार साँझ काठमाडौंको सुन्धारास्थित क्यूएफएक्स सिभिल मलमा सम्पन्न भएको छ। प्रिमियरमा दर्शक र फिल्मकर्मीको उपस्थिति थियो।
प्रदर्शनपछि दर्शकले फिल्मको कथा, अभिनय र प्राविधिक पक्षबारे सकारात्मक प्रतिक्रिया दिएका छन्। केही दर्शक भावुक बनेका थिए।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले फिल्मको कथा, अभिनय र छायांकन सशक्त रहेको प्रतिक्रिया दिए। उनले विशेषगरी अरुण क्षेत्री र सिम्रन खड्काको अभिनयको प्रशंसा गरे।
कलाकार प्रकाश घिमिरेले पनि फिल्मले आफूलाई भावुक बनाएको बताए। कथाले आफ्नै पारिवारिक परिवेशसँग जोडिएको अनुभूति गराएको उनको भनाइ थियो।
डा. कपिल रिजाल निर्देशित फिल्मले बालविवाह, त्यसबाट उत्पन्न पारिवारिक तथा सामाजिक असर र दाम्पत्य सम्बन्धका विषयलाई उठाएको छ।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।
‘गौँथली’ साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
News Filmy Newsportal / Nepal