काठमाडौँ। ‘भटभटे माइला’ पात्रबाट परिचित कमेडियन बेगम नेपालीले फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने ‘तीन तीघ्रे क्या बिग्रे’मा मुख्य भूमिकाका लागि अनुबन्धित भएका हुन्।
अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्ने फिल्मको छायांकन यही सातादेखि सुरु गर्ने तयारी छ। रघुनाथ सापकोटा निर्माता रहेको फिल्म पूर्ण हास्यप्रधान कथामा आधारित रहने जनाइएको छ।
यसअघि नै फिल्ममा गायक पशुपति शर्मा, परितोषिका पन्त, समिया कार्की र कमेडियन प्रभात लामा अनुबन्धित भइसकेका छन्। निर्माण पक्षले अन्य कलाकार पनि क्रमशः सार्वजनिक गर्ने जनाएको छ।
फिल्मका गीत पशुपति शर्माले तयार गर्नेछन् भने छायांकन संकल भुजेलले गर्नेछन्।
टेलिभिजन र डिजिटल प्लेटफर्ममा ‘भटभटे माइला’ पात्रमार्फत परिचित बनेका बेगम नेपालीका लागि यो पहिलो फिचर फिल्म हुनेछ।
News Filmy Newsportal / Nepal