‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक, हल्दी समारोहमा देखिए मुख्य कलाकार

काठमाडौँ। भदौ २६ गते प्रदर्शनमा आउने फिल्म ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकारलाई विवाहअघिको हल्दी समारोहमा देखाइएको छ।

पोस्टरको केन्द्रमा अभिनेता दिल श्रेष्ठ छन्। उनीसँगै मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह पनि पोस्टरमा अटाएका छन्। हल्दी समारोहको दृश्यमा सबै पात्र उत्सवमय माहोलमा देखिए पनि मदनकृष्ण ह्विलचेयरमा देखिएकाले उनको पात्रबारे उत्सुकता बढाएको छ।

रेखा थापाको निर्देशनमा बनेको फिल्म अहिले पोस्ट–प्रोडक्सन चरणमा छ। ‘हिम्मतवाली’ र ‘मालिका’पछि रेखाको यो तेस्रो निर्देशकीय फिचर फिल्म हो। उनी आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन्।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा दिल श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायतको अभिनय छ।

हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता रहेको फिल्मको पटकथा ध्रुव लम्सालले लेखेका हुन्। सुदीप बरालको छायांकन रहेको फिल्ममा प्रशान्त सिवाकोटीको संगीत छ।

फिल्मलाई रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशव्यापी रूपमा वितरण गर्नेछन्।

Leave a Reply