काठमाडौं । निर्देशक सौरभ चौधरीको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता विजय बराल अनुबन्धित भएका छन् । सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेनपछि विजय पनि फिल्मको बलियो कलाकार लाइनअपमा जोडिएका हुन्।
“फिल्मको लाइनअपलाई बलियो बनाउने प्रयास जारी छ । यसैक्रममा हामीले विजय बराललाई लिएका छौँ,” निर्देशक सौरभले भने, “हामी दर्शकको रोजाइमा रहेका र कथाले मागेका कलाकारलाई लिइरहेका छौँ ।”
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कलाकार लाइनअपले यसलाई मल्टिस्टार फिल्मका रूपमा अघि बढाइरहेको देखिन्छ ।
फिल्ममा उपन्यासकार बुद्धिसागरले कथा तथा पटकथा लेखेका छन् । निर्देशक चौधरीका अनुसार फिल्म ‘एपिक एक्सन ड्रामा’ हुनेछ ।
सौरभले यसपटक अघिल्ला फिल्मको तुलनामा अझ ठूलो क्यानभासमा फिल्म निर्माण गर्ने तयारी गरेका छन् । निर्माण पक्षले यो नेपाली फिल्मकै ठूलो स्केलको एक्सन फिल्म हुने दाबी गरेको छ ।
फिल्मको छायांकन आगामी साताबाट सुरु हुनेछ । निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ । फिल्मको अधिकांश छायांकन पूर्वी नेपालमा गरिनेछ ।
फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन् । को–प्रोड्युसरमा विश्वास बस्नेत (बेन) तथा कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् ।
मानकृष्ण महर्जनको डीओपी रहने फिल्मको एक्सन निर्देशन श्री श्रेष्ठले गर्नेछन् । ओएसआर डिजिटल डिजिटल पार्टनर तथा टौवा स्टुडियो पब्लिसिटी पार्टनरका रूपमा जोडिएका छन् । फिल्मको वितरणको जिम्मेवारी डिसीएनले लिएको छ ।
News Filmy Newsportal / Nepal