ओस्कारमा नेपालको प्रतिनिधित्वका लागि फिल्म आह्वान, भदौ २२ सम्म आवेदन दिनुपर्ने

काठमाडौं । नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति–२०२६ ले ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार)को ‘इन्टरनेसनल फिचर फिल्म’ विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने फिल्म छनोटको प्रक्रिया सुरु गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माको हस्ताक्षरमा जारी सूचनामार्फत मापदण्ड पूरा गरेका नेपाली फिल्मलाई भदौ २२ गते अर्थात् सेप्टेम्बर ७, २०२६ अगावै आवेदन दिन आह्वान गरिएको छ । ओस्कारको यस विधामा सहभागी हुन इच्छुक निर्माताले तोकिएको समयभित्र काठमाडौंस्थित समितिको सचिवालयमा फिल्म दर्ता गराउनुपर्नेछ ।

ओस्कारको प्रतिस्पर्धामा सहभागी हुन फिल्मले नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिबाट प्रमाणीकरण पाएको हुनुपर्नेछ । साथै, विसं २०८२ असोज १५ देखि २०८३ असोज १४ अर्थात् १ अक्टोबर २०२५ देखि ३० सेप्टेम्बर २०२६ सम्म नेपालका व्यावसायिक सिनेमा घरमा प्रदर्शन भएको हुनुपर्नेछ ।

फिल्म व्यावसायिक सिनेमा घरमा लगातार कम्तीमा सात दिन प्रदर्शन भएको हुनुपर्ने प्रावधान छ । अमेरिका र यसका भूभागबाहेक अन्य देशका व्यावसायिक सिनेमा घरमा टिकट काटेर लगातार सात दिन प्रदर्शन भएका फिल्मलाई पनि मान्यता दिइने समितिले जनाएको छ ।

यदि सात दिन प्रदर्शनको मापदण्ड पूरा नभएको अवस्थामा फिल्मले ओस्कारले तोकेका आधिकारिक अन्तर्राष्ट्रिय फिल्म महोत्सवमध्ये कुनैमा ‘क्वालिफाइङ अवार्ड’ जितेको हुनुपर्नेछ । तर, टेलिभिजन, भीओडी, डीभीडी, इन्टरनेट स्ट्रिमिङ वा एयरलाइन इन्टरटेनमेन्टजस्ता माध्यमबाट पहिलोपटक रिलिज भएका फिल्म छनोटका लागि अयोग्य हुनेछन् ।

त्यस्तै, फिल्मका निर्देशक, लेखक वा निर्मातामध्ये कम्तीमा एक जना नेपाली नागरिक हुनुपर्नेछ । फिल्ममा नेपाली परिवेश तथा तत्त्वहरू झल्किएको हुनुपर्ने र ५० प्रतिशतभन्दा बढी संवाद नेपाली भाषामा हुनुपर्नेछ । साथै, स्पष्ट रूपमा बुझिने अंग्रेजी सबटाइटल अनिवार्य गरिएको छ।

छनोटमा परेको फिल्मले ओस्कारका प्राविधिक मापदण्डसमेत पूरा गर्नुपर्नेछ । जसअनुसार फिल्म ३५ एमएम वा ७० एमएमको फिल्म फर्म्याटमा वा न्यूनतम २०४८×१०८० पिक्सेल रिजोलुसनसहित २४ वा ४८ फ्रेमको डीसीपी फर्म्याटमा उपलब्ध हुनुपर्नेछ । अडियो ५.१ वा ७.१ च्यानलमा हुनुपर्नेछ ।

इच्छुक निर्माताले अनलाइन आवेदन फाराम भरी आवश्यक सामग्रीसहित काठमाडौंस्थित समितिको सचिवालयमा सम्पर्क गर्न सक्नेछन् । थप नियम तथा प्राविधिक जानकारी ओस्कारको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको समितिले जनाएको छ।

आवेदन तथा थप जानकारीका लागि समितिका अध्यक्ष लक्ष्मीनाथ शर्मालाई सम्पर्क गर्न वा समितिको आधिकारिक इमेलमा पत्राचार गर्न सकिने सूचनामा उल्लेख छ ।

Leave a Reply