उपासना र कुन्दनको मुख्य भूमिका रहने ‘भिडियोटेप’ घोषणा, ४ करोड बजेटमा बन्ने

काठमाडौं । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म ‘भिडियोटेप’को घोषणा गरिएको छ । ललितपुरस्थित लाबिम मलमा आयोजित पत्रकार सम्मेलनमार्फत ओविद उद्दिनको निर्देशनमा बन्न लागेको फिल्म घोषणा गरिएको हो ।

हरर जनरामा निर्माण हुने फिल्मको छायांकन भदौ ५ गतेदेखि उपल्लो मुस्ताङमा सुरु हुनेछ । ३० दिनसम्म फिल्मको छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।

फिल्ममा उपासना सिंह ठकुरी र कुन्दन मान शाक्य मुख्य भूमिकामा रहनेछन् । यस्तै, अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं, सिद्धार्थ सिंहलगायत कलाकारको पनि अभिनय रहनेछ ।

फिल्ममा वशिष्ट प्रधानको डीओपी तथा ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजरको जिम्मेवारी रहनेछ । महेश बराल मुख्य सहायक निर्देशकका रूपमा रहनेछन् ।

कार्यक्रममा बोल्दै निर्देशक ओविदले आफू सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको बताए । त्यसैले डेब्यू फिल्ममा पनि यही जनरालाई रोजेको उनको भनाइ छ ।

“म सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको हुँ । यसैले आफ्नो डेब्यू फिल्ममा पनि यही जनरालाई अगाडि बढाएको छु,” उनले भने, “यो कथा काल्पनिक विषयमा आधारित छ । कुनै पनि वास्तविक घटनासँग मिल्दैन ।”

नायिका उपासना सिंह ठकुरीले फिल्मको विषयमा एक वर्षअघिदेखि नै कुराकानी भइरहेको बताइन् । कथावस्तु राम्रो लागेकाले फिल्ममा काम गर्न आफू उत्साहित रहेको उनको भनाइ छ ।

“एक वर्ष अगाडिदेखि नै यो फिल्मको विषयमा कुराकानी भइरहेको थियो । कथावस्तु निकै नै राम्रो छ । अब हामी फिल्मको छायांकनमा जाँदैछौं । एकदमै उत्साहित छु,” उनले भनिन् ।

नव–नायक कुन्दन मान शाक्यले पनि फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको बताए ।

फिल्मलाई करिब ४ करोड रुपैयाँको बजेटमा निर्माण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

कार्यक्रममा बोल्दै एप्पल इन्टरटेन्मेन्टका प्रमुख नकिम उद्दिनले नयाँ टिमलाई साथ दिन सबैसँग आग्रह गरे ।

Leave a Reply