प्रवासमा नेपाली संगीतको विस्तार, लन्डनमा बीएसके फेस्टिभल

काठमाडौं। बेलायतमा नेपाली समुदायको संख्या बढेसँगै नेपाली गीत–संगीतको माग र लोकप्रियता पनि बढ्दै गएको छ। नेपालबाट पुगेका कलाकारलाई आफ्नै सहरमा प्रत्यक्ष सुन्न र भेट्न पाउने अवसर प्रवासी नेपालीका लागि मनोरञ्जनसँगै आफ्नो भाषा, संस्कृति र संगीतसँग जोडिने माध्यम बनेको छ।

यही क्रममा लन्डनस्थित बीएसके इन्टरटेनमेन्टले गत अगस्ट १ मा एप्स कोर्टमा ‘बीएसके फेस्टिभल’ आयोजना गरेको थियो। फेस्टिभलमा कुमा सागर एन्ड द ख्वप, सज्जन राज वैद्य, द इलिमेन्ट्स र भक्त ब्यान्डले प्रस्तुति दिएका थिए।

कलाकारहरूले नयाँदेखि पुराना गीत प्रस्तुत गर्दा दर्शकले पनि उत्साहका साथ साथ दिएका थिए। कलाकारको प्रस्तुति र दर्शकको उत्साहले एप्स कोर्टमा नेपाली संगीतको माहोल बनेको थियो।

सन् २०१९ मा स्थापना भएको बीएसके इन्टरटेनमेन्टले बेलायतमा नेपाली कलाकार तथा संगीतकर्मीलाई जोड्दै विभिन्न सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको छ। संस्थाका अनुसार हालसम्म नेपालबाट ५० भन्दा बढी कलाकारलाई लन्डनमा प्रस्तुति दिन ल्याइसकेको छ।

बीएसकेले नेपथ्य, ‘द भ्वाइस अफ नेपाल’का सहभागी जनक राई, गायक सबिन राई, जोन चाम्लिङ राई, दुर्गेश थापालगायत कलाकारसँग सहकार्य गरिसकेको जनाएको छ।

नेपालबाट जाने कलाकार र बेलायतमै रहेका नेपाली संगीतकर्मीलाई एउटै प्लेटफर्ममा जोड्ने तथा नेपाली संगीतलाई विदेशमा विस्तार गर्ने उद्देश्यले बीएसकेले कार्यक्रम गर्दै आएको हो।

बीएसके इन्टरटेनमेन्टका निर्देशक सोम चाम्स नेपाली कलाकार र उनीहरूको संगीतलाई नेपालमा मात्र सीमित नराखी विश्वभर रहेका नेपाली समुदायसम्म पुर्‍याउने उद्देश्य रहेको बताउँछन्।

‘नेपाली कलाकार नेपालमा मात्रै सीमित हुनु हुँदैन। नेपाली मन जहाँ छ, त्यहाँ नेपाली संगीत पनि पुग्नुपर्छ भन्ने हाम्रो सोच हो,’ चाम्सले भने, ‘नेपालबाट कलाकार ल्याएर प्रवासमा रहेका नेपाली दर्शकसँग जोड्ने र यहाँ रहेका कलाकार तथा संगीतकर्मीलाई पनि एउटै प्लेटफर्ममा ल्याउने प्रयास गरिरहेका छौं।’

चाम्सका अनुसार बीएसकेको उद्देश्य सांगीतिक कार्यक्रम आयोजना गर्नेमै सीमित छैन। नेपाली संगीतको अन्तर्राष्ट्रिय बजार विस्तार गर्नुका साथै नेपाल र प्रवासमा रहेका कलाकारबीच सहकार्यको वातावरण बनाउने प्रयास पनि भइरहेको छ।

यसैक्रममा बीएसके इन्टरटेनमेन्टको प्लेकार्ड पर्वतारोही निर्मल पुर्जाका भाइमार्फत सगरमाथाको शिखरसम्म पुर्‍याइएको उनले बताए।

नेपालबाट कलाकार ल्याएर प्रवासमा कार्यक्रम गर्ने मात्र नभई नेपाली संगीतलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने अभियानमा बीएसकेले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave a Reply