‘महाराजधिराज’का लागि पुष्पको कठोर मेहनत, सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक

काठमाडौं । फिल्म ‘महाराजधिराज’का मुख्य कलाकार पुष्प खड्काको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक भएको छ । फिल्मका प्रस्तुतकर्ता विराज विष्टले सामाजिक सञ्जालमार्फत पुष्पको नयाँ लुक्स सार्वजनिक गरेका हुन् ।

विराजका अनुसार पुष्पले ‘महाराजधिराज’का लागि कठोर मेहनत गरेर आफ्नो शरीर बनाएका हुन् । उनले फिल्मका लागि पुष्पले गरेको त्याग, तपस्या र संघर्ष प्रशंसनीय रहेको बताएका छन् ।

“आज गर्वका साथ भन्न सक्छु, कलाकारमा हुनुपर्ने गुण भनेकै ठूलो त्याग, तपस्या र संघर्ष हो,” विराजले फेसबुकमा लेखेका छन्, “‘महाराजधिराज’ फिल्मका लागि गरेको त्याग, तपस्या र संघर्ष साँच्चिकै प्रशंसनीय छ ।”

विराजले ‘महाराजधिराज’ प्रदर्शनपछि पुष्पले नेपाली सिनेमा उद्योगमा आगामी १५ वर्षसम्म पछाडि फर्केर हेर्नुपर्ने अवस्था नआउने दाबीसमेत गरेका छन् ।

“फिल्म ‘महाराजधिराज’ प्रदर्शनपछि साँच्चिकै पीके (पुष्प खड्का) ले नेपाली फिल्म उद्योगमा १५ वर्ष फर्केर हेर्नुपर्ने अवस्था आउँदैन,” उनले लेखेका छन् ।

‘महाराजधिराज’मा अनुबन्ध हुने कागजी सम्झौता गर्ने क्रममा पुष्पले हात काटेर रगतको औँठाछाप लगाएका थिए । यही प्रसंगका कारण पनि फिल्म घोषणा भएदेखि नै पुष्प चर्चामा छन् ।

फिल्मको छायांकन अहिले काठमाडौंका विभिन्न स्थानमा भइरहेको छ । सुनसरीको श्रीलंका टापुबाट सुरु भएको छायांकन भक्तपुर हुँदै काठमाडौं आइपुगेको हो । फिल्मको छायांकन तालिका ७० दिनको रहेको छ ।

परिच्छेद सेनको निर्देशनमा निर्माण भइरहेको ‘महाराजधिराज’लाई नबराज थापाले खिचिरहेका छन् । निर्देशक सेनका अनुसार फिल्म सामाजिक विषयवस्तुमा आधारित पिरियड ड्रामा हो । फिल्मको लेखन पनि सेन स्वयंले गरेका हुन् ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा रवि खड्का र टोपेन्द्र विष्ट निर्माता तथा विराज विष्ट प्रस्तुतकर्ता रहेका छन् ।

फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, सुशील सिटौला, पूजना प्रधान, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डी.सी. र गजित विष्टलगायत कलाकारको अभिनय रहनेछ ।

यस्तै हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदीप अधिकारी र कमल देवकोटालगायत कलाकार पनि फिल्ममा देखिनेछन् ।

निर्माण पक्षका अनुसार फिल्ममा करिब ८० जना कलाकारको अभिनय रहनेछ । कमल गाउँले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ र पूजा बुढालगायत कलाकार पनि फिल्ममा आबद्ध छन् ।

Leave a Reply