मंसिर ४ मा आउँदै ‘जलाकी’, पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक

काठमाडौं । निर्देशक अशोक थापा मगरको नयाँ फिल्म ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार युट्युबमार्फत गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गीतको भिडियोमा फिल्मका कलाकार सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर र दीपिका फिचर्ड छन्।

गीतमा एसडी योगी र अञ्जु पन्तको स्वर रहेको छ। सुरेन्द्र रानाको शब्द, एसडी योगीको संगीत तथा रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको भिडियो सुरेन्द्र राईको कोरियोग्राफीमा तयार गरिएको हो। शेखर घर्ती मगर र सुशन तामाङ सह–कोरियोग्राफर रहेका छन्।

‘खुस्मा’पछि निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउनेछ। यसअघि निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मका दुई पोस्टर सार्वजनिक गरिसकेको थियो। पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेका हुन् भने छायांकन शैलेन्द्र डी. कार्कीले गरेका छन्।

फिल्ममा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज कौँचा मगर, दुइसाङ थिन तथा विशेष भूमिकामा क्याप्टेन विजय लामाको अभिनय रहेको छ।

बाल कलाकारमा मुञ्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगर छन्। मिस सिक्किम साहारा हाङमा लिम्बूले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेकी छन्।
फिल्मका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी हुन्।

निर्देशक थापा मगरको डेब्यु फिल्म ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो। त्यसको गीत ‘रुकुम मैकोट’ टिकटक, फेसबुक रिल्स र युट्युबमा व्यापक लोकप्रिय बनेको थियो। ‘खुस्मा’को सफलतापछि ‘जलाकी’ले पनि दर्शकको मन जित्ने विश्वास निर्माण टिमले गरेको छ।

फिल्मलाई गोविन्द शाहीको काफिया फिल्म्स र कुवेर सिने डिस्ट्रिब्युसनले देशभर वितरण गर्नेछन्।

Leave a Reply