‘पच्चीस पच्चीस’ घोषणा, भक्ते भाइको नेपाली फिल्ममा डेब्यु

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पच्चीस पच्चीस’ निर्माण हुने भएको छ। सोमबार दरबारमार्गस्थित कासा लाउन्ज बारमा आयोजित कार्यक्रममा फिल्मको शीर्षकसँगै निर्माण टिम र मुख्य कलाकार सार्वजनिक गरिएको हो।

कर्ण इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मको निर्देशन सुब्रत आचार्यले गर्नेछन्। ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका आचार्यको यो तेस्रो निर्देशकीय फिल्म हो।

फिल्मका निर्माता कर्ण कार्की हुन्। यसअघि ‘होस्टेल ३’मार्फत फिल्म निर्माणमा प्रवेश गरेका कार्कीको यो दोस्रो निर्माण हो। सह-निर्मातामा अजय न्यौपाने र धीरेन्द्र लाल कर्ण छन् भने कार्यकारी निर्माता दीपेन्द्र गौतम ‘माइकल’ हुन्। प्रकाश कँडेल र मनिषा राउत लाइन प्रोड्युसर छन्।

फिल्ममा अबिषेक खड्का, खुसी कार्की र प्रमोद अग्रहरीको मुख्य अभिनय रहनेछ। साथै, दार्जिलिङका कमेडियन तथा कन्टेन्ट क्रिएटर ‘भक्ते भाइ’का नामले परिचित अमित सुब्बाले यही फिल्मबाट नेपाली फिल्ममा डेब्यु गर्नेछन्।

अमित ‘द राइजिङ ब्वाइज इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत कमेडी भिडियोका कारण नेपाल, दार्जिलिङ र सिक्किममा परिचित छन्।

फिल्मको कथा सुब्रत आचार्य र जयाले तयार पारेका हुन् भने पटकथा सुशील देवकोटाले लेखेका छन्। छायांकन हरि हुमागाईंले गर्नेछन् भने पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनले तयार गर्नेछन्।

फिल्म छिट्टै छायांकनमा जाने निर्माण टिमले जनाएको छ। सामाजिक–कमेडी कथामा आधारित फिल्मले मनोरञ्जनसँगै सामाजिक विषयवस्तु प्रस्तुत गर्ने निर्देशक आचार्यले बताए।

Leave a Reply